छापा खबर


४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीको बिजुली बैशाखसम्ममा बल्ने

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीको बिजुली बैशाखसम्ममा बल्ने

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार २:१२,

सिभिल तथा इलेक्ट्रोमेकानिकल निर्माण तथा जडानपछिका विभिन्न परीक्षण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली नयाँ वर्ष २०७८ सालको उपहारका रूपमा आउने भएको छ।

दोलखाको लामाबगरमा बनिरहेको राष्ट्रिय गौरवको यो आयोजना पूर्ण स्वदेशी लगानीमा तयार हुँदैछ । यो खबर आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन्।

केही सामान्य कामबाहेकका सबै निर्माण सम्पन्न भएको यो आयोजनाको संवेदनशील संरचना तेर्सो पेनिस्टक पाइप ‘हाइ प्रेसर’मा परीक्षण सफल भइसकेको छ । मुख्य संरचना ड्याम र सुरुङमा पानी भरेर परीक्षण गर्ने अन्तिम तयारीमा जुटिरहेको आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिए।

उनका अनुसार पूर्ण क्षमतामा सुरुङमा र ड्याममा पानी भरेर परीक्षण गर्ने कार्य चैत २३ देखि सुरु हुनेछ । ‘वेट टेस्ट भनिने यो परीक्षणमा हामीले सबै सुरुङको ड्याममा भरेर परीक्षण गर्ने तयारीमा हामी लागेका छौँ,’ उनले भने, ‘करिब १५ दिन लाग्ने यो परीक्षणपछि हामी सबै टर्बाइनमा क्रमिक रूपमा पानी खसालेर विद्युत् निकाल्ने छौँ।’

अहिले विद्युत्गृह निर्माण टर्बाइन, ट्रान्स फर्मरको जडान सकिएको छ । आयोजनाको सुरुङमार्गमा पानी भरेपछि त्यहाँको संरचनाले कस्तो प्रतिक्रिया दिन्छ, त्यो हेर्नुपर्ने हुन्छ । त्यस्तै कतै पानी चुहिने समस्या छ छैन हेरिन्छ । समस्या देखिए खाली गरेर मर्मत गर्नुपर्ने हुन्छ।

त्यसो त चैत मसान्तभित्र एउटा टर्बाइनबाट भए पनि विद्युत् उत्पादन गर्ने समयसीमा तोकिएको छ तर समयसीमाभन्दा पनि चुस्त परीक्षण र निर्माणमा कुनै सम्झौता नगर्ने गरी आयोजनाका अधिकारी तथा प्राविधिकहरूले सक्रियता देखाइरहेका छन्। ‘परीक्षण त्रुटिरहित होस् भन्नेमा हामी सचेत छौं,’ श्रेष्ठले भने, ‘यो पर्याप्त समय लिएर सचेत भएर गर्नुपर्ने काम भएकाले समयसीमाको बन्धनमा हामी बाँधिनु हुँदैन।’

बग्ने नदी अर्थात् रन अफ द रिभरमा आधारित ४५६ मेगावाट क्षमताको यो आयोजनाबाट वार्षिक औसत दुई हजार २८१ गिगावाट आवर बिजुली उत्पादन गर्ने लक्ष्य छ । कुल ६६ घनमिटर प्रतिसेकेन्ड बहावमा डिजाइन गरिएको यो आयोजनाको बाँध क्षेत्र मात्र एक हजार ७४५ वर्गमिटर छ।

जहाँ १२ लाख घनमिटरसम्म पानी जम्मा गर्न सकिन्छ । भूमिगत विद्युत्गृह रहेको यो आयोजनामा मुख्य सुरुङ मात्रै आठ दशमलव ८६ किलोमिटर छ । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यो आयोजना निर्माण गर्दा निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपियाँ निर्धारण गरिएको थियो तर निर्माण अवधि लम्बिँदै जाने, अमेरिकी डलर पनि महँगिँदै जाँदा आयोजनाको लागत भने बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad