छापा खबर


जनताको सहानुभूति बटुल्न ओलीले दिएको अभिव्यक्तिले सुरक्षा निकाय असन्तुष्ट

जनताको सहानुभूति बटुल्न ओलीले दिएको अभिव्यक्तिले सुरक्षा निकाय असन्तुष्ट

नेपालखबर
फागुन १७, २०७७ सोमबार २३:३९,

चारवटै सुरक्षा निकायका तीन सयभन्दा धेरै सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्री केपी ओलीले आफू असुरक्षित रहेको बताएका छन्।

देशको सुरक्षा व्यवस्थाको कमान सम्हालिरहेका गृहमन्त्री रामबहादुर थापा बादल मञ्चमै रहेको कार्यक्रममा सोमबार उनले आफूमाथि भौतिक हमला हुन सक्ने बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

‘यो पार्टीलाई नेतृत्व गरी मैले ठीक ढंगले अगाडि बढाइरहेको र सरकार पनि गतिशील भई सञ्चालन गरिरहेको हुनाले ममाथि प्रहार भइरहेका छन् । तपाईंहरू देखिरहनुभएको छ, सम्पूर्ण रूपमा ममाथि अत्यन्तै तीव्र ढंगले प्रहार भइरहेको छ । ममाथि कुनै शारीरिक हमला नै भयो भने पनि तपाइँहरु अनौठो नमान्नुहोला,’ पोखरामा आयोजित नेकपाको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले भने, ‘तर, त्यस्तो हुन दिइनेछैन, हामी सतर्कता अपनाउनेछौँ । म रहिनँ भने पनि केही छैन । पार्टी छ, आन्दोलन छ।’

तर, सुरक्षा निकायको निष्कर्षमा भने प्रधानमन्त्री ओलीलाई त्यस्तो कुनै ‘थ्रेट’ छैन । बरु, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सुरक्षा निकायका उच्च अधिकारी असन्तुष्ट देखिएका छन् । प्रधानमन्त्रीको भाषणको खण्डन गर्नुपर्ने भएकाले यस विषयमा उनीहरू औपचारिक रूपमा भने बोल्न चाहँदैनन् । ‘प्रधानमन्त्रीको भाषणले हाम्रो शिर निहुरिएको छ,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘उहाँले आफ्नो फाइदाका लागि सुरक्षाकर्मी र देशको बेइज्जत गर्नुभएको छ।’

प्रधानमन्त्रीको सुरक्षामा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली चौबीसै घन्टा तैनाथ रहन्छ । बालुवाटारस्थित सरकारी निवासदेखि सिंहदरबारस्थित कार्यालयसम्म सेनाको नेतृत्वमा कडा सुरक्षा व्यवस्था हुन्छ । बालुवाटारबाहिर निस्कँदा पनि प्रधानमन्त्रीलाई गुप्तचरबाहेकका तीनवटै निकायका कम्तीमा तीस सुरक्षाकर्मीले स्कर्टिङ गर्छन् ।

फेरि पनि प्रधानमन्त्री ओलीले किन असुरक्षित महसुस गरे त? राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माका अनुसार लोकप्रियता घटेपछि जनताको सहानुभूति बटुल्न प्रधानमन्त्रीको यस्तो भनाइ आएको हुन सक्छ । ‘प्रधानमन्त्रीको अभिव्यक्ति लज्जास्पद छ । लोकप्रियता गुम्दै गएपछि देशका लागि केही गर्न खोज्दाखोज्दै मेरो हत्या गर्न खोजिएको छ भनेर सहानुभूति लिन खोजेकोजस्तो लाग्यो,’ उनले भने, ‘तर, यो राम्रो होइन।’

नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले पनि प्रधानमन्त्री ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए । ‘यस्ता कुराले सुरक्षा निकायको पूरै ‘मोरल डाउन’ हुन्छ । सुरक्षाकर्मी त निकम्मा रहेछन् भन्ने सन्देश जान्छ,’ उनले भने, ‘मनोवैज्ञानिक रूपमा तीन करोड नेपालीले त असुरक्षित महसुस गर्ने नै भए, विदेशीलाई समेत त्यसको असर पर्छ । देशकै प्रधानमन्त्रीले नै सुरक्षित छैन भन्छन् भने त्यो देश त असुरक्षित रहेछ, त्यस्तो देशमा किन जाने भन्ने हुन्छ।’

प्रधानमन्त्रीनिवास बालुवाटारमा सेनाका लेफ्टिनेन्ट कर्नेलको नेतृत्वमा करिब दुई सय सैनिक खटिएका छन् । पेरिमिटरदेखि गेटको सुरक्षासमेत सेनाले हेर्छ । त्यस्तै, नेपाल प्रहरीबाट डिएसपीको कमान्डमा ७५ जना प्रहरी बालुवाटारको सुरक्षामा खटिएका छन् । प्रधानमन्त्रीको सुरक्षामा खटिने सशस्त्र प्रहरीको संख्या दुई महिनाअघि मात्रै २८ बाट बढाएर ३५ पु¥याइएको थियो । राष्ट्रिय अनुसन्धान विभागबाट पनि डिएसपीको नेतृत्वमा पाँचजना बालुवाटारमा खटिन्छन्।

प्रधानमन्त्री कार्यालय रहेको सिंहदरबार बाउन्ड्रीभित्रै सेनाको गण छ । त्यस्तै, डिएसपीको नेतृत्वमा एक सय २० प्रहरी रहेको सिंहदरबार सुरक्षा गुल्म पनि प्रधानमन्त्री कार्यालयछेउमै छ । राष्ट्रिय अनुसन्धान विभागको मुख्यालय पनि सिंहदरबार परिसरभित्रै छ।

बालुवाटारबाट बाहिर निस्कँदा पनि प्रधानमन्त्रीलाई सुरक्षाकर्मीका कम्तीमा चारवटा गाडीको स्कर्टिङ हुन्छ, जसमा करिब ३० सुरक्षाकर्मी रहन्छन् । सुरुमा नेपाल प्रहरी, त्यसपछि सेनाको गाडी कुद्छ । त्यसपछि प्रधानमन्त्री सवार गाडी रहन्छ । प्रधानमन्त्रीको गाडीपछि फेरि सेना र अन्तिममा सशस्त्र प्रहरीको स्कर्टिङ हुने गरेको छ।

प्रधानमन्त्री सहभागी रहने सार्वजनिक कार्यक्रमहरूमा सेनाले विशेष हतियारसहितका सैनिक सादा पोसाकमा खटाउने गरेको छ । गत ३ फागुनमा सिंहदरबारमा आयोजित कार्यक्रममा पनि विशेष हतियारसहित सादा पोसाकमा सैनिकसमेत खटाइएको थियो ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad