चाडपर्व नजिकिएसँगै उपभोक्ताको भान्सा झनझन् महँगो बन्दै गएको छ । तरकारी, फलफूल, खाद्यान्नलगायत अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको तथ्यांकले नै एक वर्षमा तरकारीको मूल्य १ सय ९ प्रतिशतसम्म बढेको देखाउँछ।
चामल, चिउरा, दाल, चिनी, तिल, गहुँ, कोदो, मकै, आँटाको मूल्य दुई महिनामा करिब २२ प्रतिशतसम्मले बढेको छ।
‘मूल्य बढ्नुपर्ने कारण छैन तर बजारभाउ दैनिक आकासिँदै गएको छ,’ खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने, ‘ठूला व्यापारीले मूल्य बढाएका छन्। किन बढाए, त्यसबारे खुद्रा व्यापारीलाई केही जानकारी हुँदैन।’ उनका अनुसार ठूला व्यापारीले खरिद बिल पनि मूल्य घटाएर दिने गरेका छन्।
‘अहिले चामल बोरामै ९२० देखि २५ केजी० ५० रुपैयाँ बढेको छ । चिनी करिब ९० रुपैयाँ किलोसम्ममा बिक्री गर्नुपर्ने अवस्था छ,’ श्रेष्ठले भने।
मासुजन्य वस्तुको मूल्य पनि बढेको छ। बजार अनुगमन तथा मूल्य नियन्त्रण गर्ने दायित्व रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले पनि मूल्य बढेको स्वीकारे।
‘विभिन्न कर र बाढीका कारण मूल्यवृद्धि भएको छ। मासुजन्य वस्तु, तरकारी तथा फलफूल आपूर्तिमा अत्यधिक कमी आएको छ,’ उनले भने, ‘यस्तो मौका छोपी केही बिचौलिया र व्यवसायीले कृत्रिम अभाव गराई मूल्य बढाउने, कार्टेलिङ तथा सिन्डिकेटजस्ता गैरव्यावसायिक क्रियाकलाप गरिरहेका छन्।’
विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार एक वर्षमा गोलभेडाको मूल्यमा १ सय ९ प्रतिशत बढेर प्रतिकिलो १ सय १५, भन्टा ७२ प्रतिशत बढेर ९५ रुपैयाँ, काउली ४७ प्रतिशत बढेर १ सय २५, भटमास कोसा ७० प्रतिशतले बढेर १ सय ४५, फर्सी ४४ प्रतिशले बढेर ६५ रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ ।
फलफूलमा पनि ९१ प्रतिशतसम्म मूल्यवृद्धि भएको उल्लेख छ । एक महिनाकै अवधिमा खाद्यान्नको भाउ अस्वाभाविकबढेको छ । जिरा मसिनो चामल ६.६७ प्रतिशतसम्म बढेर प्रतिकिलो ८० रुपैयाँ, बासमती चामल ८ प्रतिशतले बढेर १ सय ४०, सानो केराउ ८.३३ प्रतिशतले बढेर १ सय ३० रुपैयाँसम्म पुगेको छ ।
गहुँ र मकै ११.११ प्रतिशतले बढेर ५० रुपैयाँ प्रतिकिलो, कोदो १६.६७ प्रतिशतले बढेर ७०, मैदा २० प्रतिशतले बढेर ६०, आँटा २२ प्रतिशतले बढेर ५५, मकैको पिठो १० प्रतिशतले बढेर ५५ रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ । अन्य खाद्यान्नमा पनि मूल्यवृद्धि भएको विभागले शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
मूल्य अस्वाभाविक रूपमा बढे पनि बजार अनुगमन प्रभावकारी छैन। यो खबर आजको कान्तिपुरमा राजु चाैधरीले लेखेका छन्।
‘मूल्यवृद्धिको कारक तत्त्व राज्यको आपूर्ति नीति र उपभोक्ता नीति फितलो हुनु हो,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘अनुगमन नाम मात्रैको छ । सरकारको कार्यक्रमभित्र परे पनि उपभोक्ताको हित भएको छैन । बजार नियन्त्रण गर्न सकेको छैन।’
Shares

प्रतिक्रिया