ad ad

छापा खबर


‘कौन बनेगा करोडपति’ अफरको पछि लाग्दा नर्सकोे लाखौँ स्वाहा, ठगिएपछि प्रहरीको शरणमा

‘कौन बनेगा करोडपति’ अफरको पछि लाग्दा नर्सकोे लाखौँ स्वाहा, ठगिएपछि प्रहरीको शरणमा

नेपालखबर
फागुन १०, २०७७ सोमबार १:२८,

राजधानीको एक अस्पतालमा कार्यरत स्टाफ नर्सलाई ह्वाट्सएपबाट ‘कौन बनेका करोडपति’ अफरअन्तर्गत झन्डै आधा करोड चिट्ठा परेको सूचना आउँछ।

ती नर्स आमासँगै खुसी हुँदै फुरुङ्ग बन्छिन् । खुसीको खबर बुबासम्म पनि पुग्छ । नर्सका बुबा पनि आश्चार्य मान्दै भन्छन्, कसरी यस्तो अवसर मिल्यो?

अब चिट्ठाबापतको करोड रकम छोरीकै खातामा ल्याउन परिवार नै लागि पर्छ । ह्वाट्सएपबाट सम्पर्कमा आएको अज्ञात व्यक्ति चिट्ठाबापतको रकम खातामा पठाउन केही शुल्क (कर) तिर्नुपर्ने भएकाले तत्काल आईएमईबाट एक लाख पठाउन भन्छ र रकम पठाइन्छ । छ घण्टामा उनीहरुले साढे सात लाख रुपैयाँ पठाउँछन्।

एक लाख कर तिर्दा करोड आउने प्रलोभनमा उनीहरुले बिहीबार सुवास रुम्बा, अमितकुमार, प्रिती तुम्बापो, भोला महतो र प्रदीपकुमारसहित पाँच जनाको नाममा बिहान ११ देखि ४ बजेसम्मको अवधिमा साढे सात लाख रकम आईएमई–पेबाट पठाउँछन्।

यति पठाउँदा पनि ह्वाट्सएपमा प्रताप केबीसी नामको आईडी भएको अज्ञात व्यक्ति पुनः रकम माग गर्न छोड्दैन । खातामा पठाइदिन्छु भनेको चिट्ठा रकम नआएपछि मात्र आफू अनलाइन ठगीमा परेको बल्ल नर्सलाई थाहा हुन्छ।

अनलाइन ठगीसम्बन्धी उजुरी बोकेर महानगरीय प्रहरी अपराध महाशाखामा पुगेकी ती नर्स आफूजस्तै दर्जनौँ ठगिएको देख्दा अत्यास लागेको बताउँछिन्। यस्तै प्रकृतिको अनलाइन ठगीबाट पीडित अर्की महिलाले पनि पाँच लाख गुमाएको दुःखेसो गरिन्।्

सुन्धारामा रेडिमेट पसल सञ्चालन गर्दै आएकी ती महिलाले पनि अनलाइन चिट्ठाको लोभमा एकै दिन पाँच लाख गुमाएको पीडा सुनाइन्। अनलाइन ठगीका कारण २५ हजारभन्दा माथि १० लाखसम्म गुमाएको उजुरी बोकेर महाशाखा पुग्ने पीडितको लर्को नै लाग्ने गरेको खबर आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन्।

महानगरीय प्रहरी अपराध महाशाखा साइबर पिलरका प्रहरी निरीक्षक राजेश महर्जन अनलाइन ठगी नेपालीका लागि ‘लोभले लाभ, लाभले विलाप भनेजस्तै’ भएको बताउछन्।आर्थिक दृष्टिकोणले मध्यम वर्गीय, शिक्षित र वौद्धिक समुदायका व्यक्ति नै बढी ठगिने गरेका छन्।

गिरोहले विभिन्न किसिमको चिट्ठा तथा उपहार परेको खबर इमेल, फेसबुक, भाइबर, ह्वाट्सएप, इमो, विच्याट, इन्स्टाग्राम र म्यासेन्जरलगायत सामाजिक सञ्जालबाट पठाउने र सो प्राप्तिका लागि शुल्क लाग्छ भन्दै अनलाइन ठगी गर्ने क्रम अचेल बढेको छ।

अपराध महाशाखामा मात्र यस्ता दुई दर्जनभन्दा बढी उजुरी छन् । नक्कली आईडी बनाई अनलाइन ठगीको आरोपमा केही नेपाली र विदेशी नागरिक पक्राउ परेका छन् । यस्ता ठगहरूको सञ्जाल भारत, अफ्रिका, खाडी र युरोपसम्म फैलाएको महाशाखाले जनाएको छ।

यो समूहले प्रत्येक दिन ‘एक न एक’ जना नेपालीलाई पीडित बनाउने गरेको छ । केही दिनअघि महाशाखाले अनलाइन चिट्ठा ठगीको अभियोगमा झापाबाट एक जनालाई पक्राउ गरेको छ। आईएमई–पेबाट प्राप्त ठगीबापतको रकम बुझ्न जाँदै गर्दा उनी पक्राउ परेका हुन्।

सूचना प्रविधिको विकाससँगै यो अपराध गाउँ–गाउँसम्म मौलाउँदै गएको छ, ठग्नेभन्दा ठगिने मुर्खको जमात पत्याउन नसकिने छ । सित्तैमा पैसा र उपहार पाइने प्रलोभनबाट जानी–जानी ठगिने समस्या बढेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .