छापा खबर


भागरथी हत्या प्रकरण : जब प्रहरीको तालिम प्राप्त कुकुर नै अलमलमा पर्‍यो

भागरथी हत्या प्रकरण : जब प्रहरीको तालिम प्राप्त कुकुर नै अलमलमा पर्‍यो

नेपालखबर
फागुन २, २०७७ आइतबार १:९,

बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया भागरथी भट्ट हत्याको अनुसन्धान भीरकट्याको बाटोमा अड्किएको छ।

भागरथी पढ्ने विद्यालयदेखि झन्डै ५ सय मिटर दूरीमा रहेको भीरकट्याबाट घटनास्थलसम्मको सम्पर्क प्रहरीले जुटाउन नसकिरहेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा बैतडीबाट शिवराज भट्टले लेखेका छन्।

भागरथी माघ २१ गते दिउँसो १ बजेर ४५ मिनेट अर्थात् टिफिनका बेला सनातन धर्म मावि खोचलेकबाट घर हिँडेकी थिइन्। उनले खोचलेक बजारको एक पसलमा चाउचाउ किनेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनले त्यो चाउचाउ बजारबाट झन्डै ३ सय मिटर दूरीमा रहेको भीरकट्याको भीरमा खाइन्।

‘भीरकट्याको भीरमा चाउचाउ खाएको देख्ने प्रत्यक्षदर्शी भेटिएका छन्। त्यतिबेला दुई जना थिए। दुवै भीरकट्याको भीरबाट छुट्टिए’, एक प्रहरी अधिकृतले भने, ‘तर, त्यसभन्दा माथिको लोकेसन पत्ता लगाउन प्रहरीलाई हम्मेहम्मे परेको छ।’ भीरकट्याबाट घटनास्थल झन्डै दुई किमि दूरीमा छ।

त्यस दिन दिउँसो २ बजेर ४७ मिनेटमा भागरथीको मोबाइल स्विच अफ भएको छ। उनको शवनजिकै झन्डै १० मिटरमा ब्याट्री झिकिएको मोबाइल भेटिएको थियो। प्रहरीको तालिमप्राप्त कुकुरले त्यो मोबाइल पत्ता लगाएको हो। प्रहरीको कुकुरले घटनास्थलबाट सय मिटरसम्म भीरकट्याको भीरतर्फ पछ्याएको प्रहरीले जनाएको छ।

‘राति पानी परेकाले त्यसपछि कुकुर अलमलमा पर्‍यो। तर, अभियुक्त भीरकट्यातिर लागेको अनुमान भने गर्न सकिन्छ’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘पानी परेकाले अभियुक्तको बास्ना कुकुरले पत्ता लगाउन सकेन।’

घटनाको अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी र एसएसपी जनकराज पाण्डेसहित केन्द्रीय अनुसन्धान ब्युरोको टोली प्रहरी चौकी खोचलेकमा छ। तर, प्रहरीले घटनाको कुनै तथ्य बाहिर ल्याउन सकेको छैन। प्रहरीले अनुसन्धानमा रहेको, फराकिलो घेरा साँघुरो भएको मात्रै बताउने गरेको छ।

टेक्निकल टिमले भागरथीको मोबाइलका दुई सिम बरामद गरेको छ। तीमध्ये उसका बुवाले प्रयोग गर्ने नेपाली नम्बरको सीमबाट त्यो दिनभर कल भएको छैन। अर्को सीम भारतीय मोबाइल कम्पनीको छ। ‘भारतीय मोबाइलमा केही कल देखिन्छन्। तर, नेपाली सिममा गरिएको कलका आधारमा प्रहरीले खासै सुराक फेला पार्न सकेको छैन’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

भागरथीको शव भेटिएको स्थानमै हत्या भएको हो भन्ने धेरै आधार देखिएका छन्। घटनास्थलमा रगत बगिरहेको भेटेको छ। भागरथीको सर्टको बटन र दुईवटा हेयर ब्यान्ड रबर पनि भेटिएका छन्। उनको च्यातिएको अवस्थाको ज्याकेट पनि घटनास्थलमा भेटिएको छ। ‘यी कुराले घटनास्थलमा हत्या भएको पुष्टि हुन्छ’, एक प्रहरी अधिकृतले भने।

भीरकट्याबाट घटनास्थलसम्म जाँदा दुईवटा बस्ती छन्। प्रहरी भन्छ, ‘त्यो बस्तीका मानिसले उनलाई घटनास्थल गएको देखेका छैनन्। हामीले एक÷एक गरेर सबैलाई सोधिसक्यौं तर कोही देखिन भन्छन्।’ भागरथीको झोला शरीरमा भिरेकै अवस्थामा थियो।

‘सिल्ल भन्ने बस्तीबाट छिरेको भए कसै न कसैले देख्थे। तर, कतै गाउँभन्दा फरक बाटोबाट लगियो कि भनेर पनि अनुसन्धान भइरहेको छ। प्रहरीको कुकुरले पनि प्राय हिँड्ने गरिएको सडक मुनितिरको वनलाई पछ्याएको थियो’, एक प्रहरी अधिकृतले भने।

प्रहरीले भागरथी हत्या घटनामा कसैलाई पक्राउ गरेको छैन। प्रहरीले झन्डै दुई सय जनालाई सोधपुछ गरिसकेको छ। स्थानीयवासी प्रहरीले पक्राउ नै नगरेको भन्दै गुनासो गर्छन्। तर, प्रहरीले चडेपानीसहित वडा नम्बर ७ का हरेक घरको तथ्यांक संकलन गरेको बताएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad