छापा खबर


ओलीलाई अंहकारी, सन्की, तानाशाह भन्दै झाँकीले भनिन्- राष्ट्रपति उनकै प्यादा!

ओलीलाई अंहकारी, सन्की, तानाशाह भन्दै झाँकीले भनिन्- राष्ट्रपति उनकै प्यादा!

नेपालखबर
माघ २९, २०७७ बिहिबार ०:५६,

नेकपाको प्रचण्ड-नेपाल समूहको विरोध सभामा दोस्रो तहका नेताहरू पनि आक्रामक देखिएका छन् । प्रतिनिधिसभा विघटनपछिको सडक–संघर्षमा ‘फ्रन्टलाइनर’को भूमिकामा रहेका उनीहरूले बुधबार विरोध सभामा छोटो, तर निकै आक्रामक सम्बोधन गरे।

केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले आफूहरूले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता रहेको बताइन् । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

‘बोल्न पाइन्छ, हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन । सर्वसत्तावादका विरुद्ध बोल्न पाइन्छ,’ मुखमा लगाएको कालो टेपको क्रस निकालेपछि युवा नेतृ झाँक्रीले विना कुनै सम्बोधन बोल्न सुरु गरिन्, ‘संविधानको चीरहरण गर्नेका विरुद्ध बोल्न पाइन्छ । संविधान र कानुनी राज्यको खिलाफमा सेटिङ र बन्द कोठाभित्र भएका अँध्यारा षड्यन्त्रका विरुद्ध बोल्न पाइन्छ ।’

झाँक्री मञ्चमा निकै आक्रामक र प्रतिरोधी शैलीमा उपस्थित भइन् । ‘प्रतिगमन मुर्दावाद’ लेखिएको ज्याकेट फुकाल्दै मञ्चमा पुगेकी उनललाई दर्शकदीर्घाबाट भव्य स्वागत भयो । उनले धाराप्रवाह करिब सात मिनेटभन्दा बढी बोलिन् । सम्बोधनका क्रममा उनले प्रधानमन्त्री ओलीको कदममा राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको भूमिका र त्यस विषयमा आफूले बोल्दा ओली पक्षबाट भइरहेको आक्रमणको कडा प्रतिवाद गरिन्।

केही दिनअघि प्रधानमन्त्री ओलीले नारायणहिटीको प्रांगणमा आयोजना गरेको कार्यक्रममा राखिएका प्रतिमाहरूलाई इंगित गर्दै झाँक्रीले राज्यको ढुकुटी दोहन गरेको बताइन् । ‘तानाशाहले जब आफ्नो कदलाई घटाउँदै–घटाउँदै जान्छन् त्यतिवेला राज्यको सम्पत्तिको दोहन गर्दै कागजका अग्लाअग्ला प्रतिमा मात्रै होइन बुख्याँचा बनाउँछन् । खड्गप्रसादले त्यही गरेका हुन्,’ उनले भनिन् ।

झाँक्रीले राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्रीको असिस्टेन्टजस्तै भएर हरेक निर्णयमा सहीछाप गरेको भन्दै राष्ट्रपति पदमाथि नभएर भण्डारीको प्रवृत्तिमाथि आफू बोलेको र बोल्न पाइने जिकिर गरिन् ।

राष्ट्रपतिका विषयमा झाँक्रीले दिएको अभिव्यक्तिले महिला अस्मिता मिचिएको भन्दै ओली पक्षको अखिल नेपाल महिला संघले उनलाई कारबाही गर्न माग गरेको थियो।

उनले संविधानविरोधी काम गर्ने खलपात्रविरुद्ध बोल्दा होइन, भागरथी भट्ट र निर्मला पन्तहरूको बलात्कार र हत्या हुँदा महिला अस्मिता मिचिएको बताइन् । उनले अंहकारी, सन्की, तानाशाहको प्यादा बन्ने व्यक्तिका विरुद्ध बोल्दा महिला अस्मितामाथि प्रश्न नआउने तर्क गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad