ad ad

छापा खबर


नारायणहिटी प्रांगणमा ओलीको ‘मार्केटिङ’

नारायणहिटी प्रांगणमा ओलीको ‘मार्केटिङ’

नेपालखबर
माघ २३, २०७७ शुक्रबार २३:५२,

दुई वर्षअघि सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ गर्दा ‘नयाँ युगको सुरुवात’ लेखेर सहरका बिजुलीका पोलहरूमा प्रधानमन्त्री केपी ओलीका पोस्टर झुन्ड्याइएका थिए।

त्यतिवेला उनले भनेका थिए, ‘सरकार देखेनौँ, सुनेनौँ भन्नेहरूलाई देखाउन यो तामझाम गरिएको हो । आउने कार्यक्रम सरकारले नौमती बाजा बजाएर शुभारम्भ गर्छ।’ दुई वर्षपछि त्यस्तै ओलीको ‘ब्रान्डिङ’ गरेको तामझामपूर्ण दृश्य दरबारमार्गमा देखिएको खबर आजको नयाँ पत्रिका दैनिकमा दिपेश शाहीले लेखेका छन्।

सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन भएन । बरु पार्टीभित्रको विवाद सुल्झाउन नसकेर प्रधानमन्त्री ओलीले संसद् विघटन गरे र देशलाई राजनीतिक तनाव र मुठभेडतिर धकेलेका छन् । तर, यहीवेला उनी आत्मप्रशंसामा रमाएका छन् । संसद् विघटन गरेकै कारण उनको पार्टी नेकपा राजनीतिक रूपमा विभाजित भइसकेको छ।

ओली विभाजित पार्टीमा आफ्नो समूहका नेता–कार्यकर्ताबाट जयजयकार खोजिरहेका छन् । तब त ओली सभास्थलमा पुग्दा सभा सञ्चालन गरिरहेका ओली समूहका बागमती प्रदेश इन्चार्ज आनन्द पोखरेलले नारा लगाए, ‘राजनेता केपी ओली– जिन्दावाद! केपी ओली– जिन्दावाद ! केपी ओली हाम्रो आस्था हुन्!’ एक दिनअगाडि केपी बा आई लभ युको नारा लागेको थियो।

प्रधानमन्त्री ओलीले शुक्रबार राजधानीस्थित नारायणहिटी दरबार संग्रहालयको प्रांगणअगाडि सडकमा सभा आयोजना गरेर शक्ति प्रदर्शन गरे । प्रदर्शनका लागि नारायणहिटीको प्रांगणबाट विवादास्पद यती समूहको व्यापारिक भवनतिर फर्काएर बनाइएको मञ्चमा उभिएर ओलीले भाषण गर्दागर्दै होहल्ला भएपछि केही समय रोकिनुप¥यो । यती समूहले ओलीकै सद्भावमा जग्गा लिजमा लिएर बनाएको भवनमा सभाको ‘डिस्प्ले’ राखिएको थियो । यहीँबाट ओलीले सुशासनको भाषण पनि सुनाए।

दर्शकदीर्घाबाट भइरहेको हो–हल्ला उनकै जयजयकारमा थियो । त्यसरी हल्ला गर्नेका दुईवटा उद्देश्य देखिन्थे । पहिलो– लामो समय चिसो सडकमा बस्दाबस्दै असहज भएपछि उभिएर आराम गर्नु । दोस्रो– ओलीले भाषणमा के भन्छन् भनेर सुन्नेभन्दा पनि हल्ला गरेर उनैलाई खुसी बनाउनु । ओली आफैँ पनि यस्तै चाहन्थे!

सभाको मञ्चमा उभिएर भाषण गर्ने नेतादेखि गाना गाउने कलाकारसम्मका शब्दमा ओली नै थिए । दरबारमार्ग क्षेत्रको चारैतिर बिजुलीका पोलहरूमा समेत ओलीकै तस्बिरहरू राखिएका थिए । ओलीले गरेको संसद् विघटनमाथिका प्रश्न ढाक्न उनका ठुल्ठूला पोस्टर दरबारमार्ग क्षेत्रमा राखिएका थिए । जिल्ला–जिल्लाबाट गाडी चढेर सभामा आएकाले बिजुलीका पोलमा झुन्ड्याइएका ओलीका तस्बिरमा समृद्ध नेपाल देखे कि!

शुक्रबारको सभाबाट ओलीले केही विशेष घोषणा गर्ने भनेर आकलन गरिएको थियो । तर, त्यहाँ उनले घोषणा त के यसअघि बोल्दै आएकोभन्दा फरक केही उल्लेखनीय विषयसमेत बोलेनन् । केही मुद्दाहरूमा सफाइ दिने कोसिस गरे । नेकपा प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले केही दिनअघि माइतीघर मण्डलामा बोल्दै ‘राजतन्त्र र हिन्दूराष्ट्रकै विषयमा ओलीले केही घोषणा गर्ने सुनेको’ अभिव्यक्ति दिएका थिए।

जवाफमा ओलीले ‘आफैँ लडेर फालेको व्यवस्था फर्काउँछ भन्नु आफ्नाविरुद्ध छरिएको भ्रम मात्रै भएको’ स्पष्टीकरण दिए । यसअघि लगाउँदै आएका विकास र समृद्धिका नारामा केही मसला थपेर दोहो¥याए।

उनले दैलेखबाट पेट्रोल, डिजेल, नवलपरासी, तनहुँ र पर्वतबाट फलाम र स्टिल, जाजरकोटबाट तामा र बैतडीबाट फस्फोरसलगायत चिज उत्पादन गर्ने बताए । त्यति मात्रै होइन, उनले रासायनिक मलसमेत स्वदेशमा नै उत्पादन गर्ने भाषण गरे।

उनले पूर्वआकलन गरिएजस्तै अहिलेको व्यवस्थाकै विरुद्धमा केही घोषणा त गरेनन्, तर त्योभन्दा बढी आफू शक्तिशाली शासक हुँ भनेर देखाउन अनेकौँ शैली अपनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .