कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन्।
निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका विद्यालयहरू अब पूर्ववत् रूपमा खुल्न नसक्ने सम्बद्ध क्षेत्रको आकलन छ। यो खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी कम विद्यार्थी भएका एक हजार जति विद्यालय बन्द हुनसक्ने बताउँछन्। १० महिनादेखि विद्यालय बन्द भएको, भाडा तिर्नु पर्दा खर्च बेहोर्न नसकेका कारण विद्यालय बन्द हुने अवस्था देखिएको उनको भनाइ छ।
हाल विद्यालय खुल्ने क्रम सुरु भएकाले माघसम्ममा कति विद्यालय बन्द भए भन्ने यकिन विवरण आउने र आफूहरूले पनि विवरण अद्यावधिक गर्न पहल गरिरहेको उनले बताए। बन्द हुने अवस्थामा रहेका धेरै विद्यालयले सरकार तथा निजी विद्यालयका संस्थालाई जानकारी दिँदा धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएका कारण आफूखुसी बन्द गर्ने क्रम देखिएको छ।
निजी विद्यालयका सञ्चालकहरूका अनुसार विद्यालय बन्द हुने समस्या काठमाडौँ उपत्यकामा धेरै हुनेछ । तुलनात्मक रूपमा काठमाडौँ उपत्यका भन्दा बाहिर निर्बाध रूपमा विद्यालय सञ्चालन भएका छन्। उपत्यकामा १० महिनासम्म विद्यालय बन्द भएका कारण समस्या बढी देखिएको छ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन) का अध्यक्ष ऋतु सापकोटाले धेरैजसो तल्लो तहको कक्षा सञ्चालन गरेका विद्यालय पूर्ववत् रूपमा खुल्न समस्या देखिएको बताए। कक्षा १० सम्म सञ्चालन भएका विद्यालय भने बन्द भएका छैनन्।
Shares

प्रतिक्रिया