छापा खबर


नेताहरु कोही सत्तामा, कोही सडकमा, युवाहरु वितृष्णा बोकेर विदेशतिर

नेताहरु कोही सत्तामा, कोही सडकमा, युवाहरु वितृष्णा बोकेर विदेशतिर

नेपालखबर
पुस २६, २०७७ आइतबार १:३२,

२७ वर्षीय पञ्चकुमार डीसी भारतको बैंगलोर जान पत्नी रजनपुरा रोकाया डीसीको हात समातेर कैलालीको गौरीफन्टा सीमानाकामा लाम लागेका थिए।

कर्णाली प्रदेशको कालिकोट सान्नी त्रिवेणी गाउँपालिका-२ का डीसीको अनुहार मलिन थियो। उनी पहिलो पटक काम खोज्दै भारत जान लागेका रहेछन्।

‘मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको स्थानीय तह र मेरो तह जोडिएका छन्। म उहाँको छिमेकी हो’, डीसीले भने, ‘तर, कुनै फरक अनुभूति भएन। उहाँले निर्वाचनका बेला गर्नुभएका वाचा सबैले बिर्सिसक्नुभयो।’

डीसी गाउँमा मेलमिलाप सहजकर्ता हुन्। तर, त्यो जागिर सकिएपछि, उनी बेरोजगार भएर भारततिर हिँडेका हुन्। ‘भएको सानो रोजगारी पनि सकियो’, उनले भने, ‘अब श्रीमती लगेर दुवै जना काम गर्ने भनेर भारत जान लागेको।’

उनले निर्वाचनमा भोट दिए। ‘मैले भोट दिएका नेताले जित्नुभएको पनि हो। उहाँकै पार्टी सरकारमा छ’, उनले भने, ‘दुईतिहाइनजिकको प्रतिनिधिसभा अहिले भंग भएको छ। कुनै नेता पदका लागि सडकमा आएका छन् भने कुनैले पद नछाडेका कारण यत्रो लडाइँ भइरहेको छ। वितृष्णा जाग्छ मनमा। गाउँमा बस्ने त मन हुन्छ तर के गरेर बस्ने? के खाएर बस्ने?’

बैतडीको दशरथचन्द नगरपालिका–५ औलाका २७ वर्षीय पदम कोली र २३ वर्षीय नीरज कोली दाजुभाइ रहेछन्। उनीहरूले पनि गत निर्वाचनमा भोट दिए। ‘यसपालिको सरकारले भारतमा जानेहरूलाई रोक्छ, गाउँमै रोजगारी सिर्जना हुन्छ, सबैले नोकरी पाउँछन् भनेका थिए’, पदमले भने, ‘तर, आफैँ लडेर कोही सडक त कोही सत्तामा छन्।’

प्रतिनिधिसभा विघटन भएपछि सत्तारुढ नेकपाकै एक समूह सडकमा छ। प्रतिपक्षी दल पनि सडकमै छन्। उनीहरूलाई नाराजुलुसका लागि जनता चाहिएका छन्। धेरैले आन्दोलनका बेला घर–घरमा गएर जनतालाई बाहिर आउन आग्रह पनि गरे।

‘अस्ति नै हाम्रो घरमा केही नेता आएर जुलुसमा जानुपर्छ भनेका थिए’, भारतको महाराष्ट्र राज्यको पुनामा चौकीदारी गर्ने कैलालीको गौरीगंगा–९ मसुरियाका बमबहादुर बमले भने, ‘त्यसपछि अर्को दिन पनि नेताहरू आए, दिक्क लाग्यो, अनि भारततिर हिँडेको।’ बमका दुई छोराछोरी छन्। दुवै जना पढ्नमा अब्बल रहेको बमले सुनाए। उनका अनुसार छोरा बीएससी पढिरहेका छन् भने छोरी १२ कक्षामा व्यवस्थापन पढिरहेकी छन्।

अछामको मंगलसेन नगरपालिका–११ जुपुका कल्पेश बोहरा पनि दूधे बालकसहित भाइबुहारी लगेर भारतको मुम्बई हिँडेका छन्। गौरीफन्टा नाकामा भेटिएका बोहराले भने, ‘घरमा बसेर के खाने? नेपालमा मजदुरी पनि पाइँदैन कतै। घर निर्माण, सडक निर्माणमा मेसिन आइहाले। हामीलाई कसले काम दिन्छ? केही आफैँ गरुँ भन्न पुँजी हुँदैन अनि भारत नगएर के गर्नु?’

दुईतिहाइ नजिकको सरकार बनेपछि धेरै नेपालीमा स्वदेशमै केही रोजगार पाउने आशा पलाएको थियो। देशमा स्थिरता आएपछि रोजगारीको अवसर पनि बढ्ने उनीहरूको अपेक्षा थियो। तर, तीन वर्षमै देशमा अस्थिरताको बादल देखिएको छ। जसकारण देशमा सुख शान्तिको अनुभव जनताले गर्न पाएका छैनन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा कैलालीबाट शिवराज भट्टले लेखेका छन्।

‘अहिले भारत जाने नेपालीमा देशको अवस्थाप्रति वितृष्णा देखिन्छ’, आप्रवाशनको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था निड्स नेपालका कार्यक्रम प्रबन्धक प्रकाश मडै भन्छन्, ‘लामो कालखण्डमा भएको राजनीतिक परिवर्तनपछि केही रोजगारी र स्वरोजगारका अवसरको आशा गरिएको थियो। तर, अहिले भारततिर जानेमा त्यो आशा मरेको अनुभव हुन्छ।’

लकडाउन खुलेपछि भारत जाने नेपालीको संख्या धेरै बढेको छ। सुदूरपश्चिमबाट लकडाउनयता १ लाख ८० हजार मानिस भारत गएका छन्। जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरको तथ्यांकअनुसार कैलालीको गौरीफन्टा नाकाबाट मात्रै १ लाख ३७ हजार र कञ्चनपुरको गड्डाचौकी नाकाबाट ४० हजारभन्दा बढी भारत पसेका हुन्।

अझ रोचक त के छ भने भारत जानेमा महिला बालबालिकाको संख्या मात्रै ७६ हजार छ। ‘घरमा खान पुग्दैन। भारत गएका व्यक्तिले खानाका मात्रै लागि पनि श्रीमती र बच्चाहरूलाई भारत लगिरहेका हुन्छन्’, निडस नेपालका कार्यक्रम प्रबन्धक मडै भन्छन्, ‘नेपालका लागि यो गम्भीर विषय हो।’

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad