ad ad

छापा खबर


९ महिनापछि लाइसेन्स फर्म त खुल्यो, तर भर्नै सकस

९ महिनापछि लाइसेन्स फर्म त खुल्यो, तर भर्नै सकस

नेपालखबर
पुस २३, २०७७ बिहिबार १:५८,

करिब नौं महिनापछि खुलेको सवारीसाधनको चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा फाराम भर्न नै सकस उत्पन्न भएको छ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन माध्यममार्फत कोटा प्रणालीमा फारम खुला गरे पनि प्रविधिलगायत समस्याका कारण फर्म भर्न नै सकस उत्पन्न भएको खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।

विभागले गत १४ पुसदेखि अनलाइनमार्फत फारम खुला गरेको थियो । तर, अधिकांश सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पाएका छैनन् । झापा निवासी सुशील गौतमले १४ पुस अर्थात् फारम खुलेकै दिनदेखि अनलाइन फर्म भर्न प्रयास गरे पनि अहिलेसम्म भर्न सकेका छैनन्।

गोरखा निवासी सुदन पौडेलले आफूले चार घण्टा निरन्तर प्रयास गर्दा पनि फर्म भर्न नमिलेको भन्दै अनलाइन फर्म भर्ने गतिलो व्यवस्था नभएको बताए। अर्का एक सेवाग्राही बिहान ५ः५५ देखि सुरु गरेर २० मिनेट निरन्तर अथक प्रयास गर्दा फर्मको कोटा नै सकिएको भनेर सन्देश आएको जानकारी दिए। उनले दलालसमक्ष नै पुग्न बाध्य हुनेगरी विभागले काम गरिरहेको आरोपसमेत लगाए।

माथि उल्लिखित पात्रहरू जस्तै लाइसेन्सका लागि अनलाइन फर्म भर्न खोज्ने अधिकांशले अहिले समस्या भोगिरहनुपरेको छ । धेरै जनाले फर्म भरेर सब्मिट गर्दा कोटा सकिएको भन्दै भर्न पाएका छैनन् भने अधिकांश समय त विभागको अनलाइन फर्म भर्ने साइट नै डाउन हुने गरेको छ।

विभागले सोमबार भने सर्भर मर्मतका लागि भन्दै अनलाइन आवेदन रोकेको थियो। सोमबार सर्भर मर्मत गरिएपछि डाउन नभए तापनि कोटा सिस्टमका कारण सेवाग्राहीले भने फर्म भर्न पाएका छैनन्।

विभागको वेबसाइटमा राखिएको लिंक अथवा अनलाइन इडीएलआरइजी डट डीओटीएम डट जीओभी डट एनपीमार्फत फारम बिहान ६ बजदेखि राति १० बजेसम्म भर्न सकिने विभागले जनाएको छ। विभागले कोटा भएको अवस्थामा मात्र फर्म भर्न सकिने पनि जनाएको छ । तर, सेवाग्राहीले सहज रूपमा अनलाइन फर्म भर्न पाएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .