कोरोना नियन्त्रणका लागि भनेर गत वर्षदेखि विश्वभरि अपनाइएको जनस्वास्थ्य मापदण्डका कारण अन्य सरुवा रोगसमेत घटिरहेको पाइएको छ।
राजधानीका मुख्य तथा ठूला अस्पतालहरूले फोहोर तथा प्रदूषणले लाग्ने रोग नियन्त्रण भइरहेको अनुभव गरेका छन्। चिकित्सकका अनुसार न गर्मी महिनाका झाडापखाला फैलियो न त रुघाखोकी तथा निमोनिया।
यो खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्।
टिचिङ अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा.सन्तकुमार दासको अनुभवमा गत वर्षको तुलनामा इन्फ्लुएन्जाजन्य रोगका बिरामीहरू देखिएका छैनन्। बितेका वर्षहरूमा स्वाइनफ्लुका बिरामीहरू अस्पताल आउँथे। यो वर्ष न स्वाइनफ्लुका न त अन्य फ्लुका बिरामी उपचारका लागि पुगेका छन्।
कोभिडको जस्तै लक्षण देखिएका तर रिपोर्ट नेगेटिभ आए मात्र इन्फ्लुएन्जा परीक्षण गरिन्छ। तैपनि इन्फ्लुएन्जाका बिरामी नभेटिएको डा.दास बताउँछन्। उनको अनुभवमा जाडोमा बहिरंग विभागमा मात्र दैनिक ४०–५० जना इन्फ्लुएन्जाका बिरामी आउँथे।
यो वर्षको जाडोमा रुघाखोकी तथा श्वासप्रश्वासका बिरामी घटेको वीर अस्पताल मेडिकल विभागका अनुभव छ। विभागका वरिष्ठ फिजिसियन डा.ध्रुव गैरेका अनुसार गत वर्ष दैनिक औसत ६० जना इन्फ्लुएन्जाका मात्र बिरामी आउँथे। यो वर्ष अत्यन्त कम संख्यामा मात्र यस्ता बिरामी उपचारका लागि आइरहेका छन्।
यो वर्ष गत वर्षजस्तो भाइरल डायरिया र फुड प्वाइजनका बिरामी पनि नआएको डा. गैरे बताउँछन्। हिँडडुल गर्नेहरूमा देखिने इन्फ्लुएन्जा तथा श्वासप्रश्वाससम्बन्धी रोगहरू पनि यो वर्ष अत्यन्त कम देखिएको उनको अनुभव छ। ‘मास्क लगाउनाले युवाहरूमा देखिने श्वासप्रश्वासको संक्रमण यो वर्ष धेरै घटेको छ,’ डा.गैरे भन्छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा.युवराज शर्माको पनि कीटजन्य र श्वासप्रश्वासजन्य रोगहरू घटेको अनुभव सुनाउँछन्। ‘निश्चित रूपमा घटेको छ तर नेपालीहरूमा पछिल्लो समयमा भीडभाडमा हिँड्ने चलन बढेको छ,’ उनी भन्छन्, ‘यसले जोखिम पनि बढेको छ।’
चिकित्सककका अनुसार यो वर्षको गर्मीमा देखापर्ने हेपाटाइटिस, झाडापखाला तथा टाइफाइडका बिरामी विगतका वर्षहरूको तुलनामा उल्लेखनीय रूपमा घटेका छन्। कोभिड र अन्य इन्फ्लुएन्जाको सर्ने प्रक्रिया एउटै भएकाले मास्क लगाउने र दूरी कायम राख्दा सर्नमा नियन्त्रण भएको चिकित्सकहरू बताउँछन्। कोभिडबाट बच्न मानिसहरू घरबाहिर कम खाने, जहाँ पायो त्यहाँ नखाने, हातको सफाइ गर्ने बानीले कीटजन्य सरुवा रोगमा कमी आएको चिकित्सकहरू बताउँछन्।
इन्फ्लुएन्जाजस्तै डेंगीको संक्रमणसमेत घटेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुन बताउँछन्। पुनका अनुसार कोभिड–१९ र अन्य इन्फ्लुएन्जा सर्ने तरिका एउटै भएको अवस्थामा कोभिड–१९ देखा पर्नु र इन्फ्लुएन्जा संक्रमण कम देखिनु अध्ययनको विषय हो।

प्रतिक्रिया