छापा खबर


जब भारतीय एसएसबीले नेपाली भूमीमा जबर्जस्ती पिलर गाडे...

जब भारतीय एसएसबीले नेपाली भूमीमा जबर्जस्ती पिलर गाडे...

नेपालखबर
पुस २१, २०७७ मंगलबार ०:४२,

नेपाल–भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले जबर्जस्ती पिलर गाडेको थाहा पाएपछि स्थानीयले रोकेका छन्।

इलामको सूर्योदय नगरपालिकाको हिलेभन्ज्याङमा आइतबार राति एसएसबीले पिलर गाडेको थाहा पाएपछि घटनास्थल पुगेर स्थानीयले पिलर गाड्न रोकेका खबर आजको राजधानी दैनिकमा भगीरथ भण्डारीले लेखेका छन्।

स्थानीयको हुलसहित सशस्त्र प्रहरी पुगेपछि आफूले गाडेको पिलर उखेलेर एसएसबी त्यहाँबाट भागेको छ। एसएसबीले ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) ले देखाएको ठाउँ भन्दै नेपाली भूभागपट्टि पिलर गाड्ने प्रयास गरेको सशस्त्र प्रहरी बलको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बीओपी)का इन्स्पेक्टर नवीन खतिवडाले बताए । उनले भने, ‘हामी कसैलाई थाहै नदिई विवादित ठाउँमा एसएसबीले पिलर गाड्न खोजेको रहेछ।’

भारतले सीमा क्षेत्रमा राखेको एसएसबीको बीओपीमा नयाँ नेतृत्व आएपछि पिलर गाड्ने प्रयास भएको सशस्त्र प्रहरी निरीक्षक खतिवडाले बताए।

नेपाल र भारतको सिमानामा लामो समयदेखिको विवाद र मिचामिचको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । पटक पटक सिमानामा भएको विवादले स्थानीय समस्यामा पर्न थालेका छन् । केही समय अघिदेखि सीमामा समस्या नभएजस्तै गरे पनि सानोतिनो समस्या अहिले पनि देखिरहने गरेको छ।

भारतीय सीमा क्षेत्र इलामको पशुपतिनगरसहित सलकपुर, समालवुङ, छब्बिसे, कालपोखरी र जौवारीमा बीओपी स्थापना भइसकेका छन् । मानेभन्ज्याङमा बीओपी राख्ने तयारी अन्तिम चरणमा पुगेको छ भने पाटापुर, मेघमा, गोर्खे र सन्दकपुर पनि प्रस्तावित छन्।

सीमास्तम्भ सुरक्षा र सिमानामा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि धमाधम सीमामै बीओपी राखिए पनि सीमा सार्ने समस्या हटेको छैन । भारतीय सुरक्षा निकाय एसएसबी सीमाक्षेत्रका भारतीय भूभागमा जताततै छ । एसएसबीले दशगजा क्षेत्रमा टेन्ट हालेर, हतियार राखेर बस्ने क्रम अहिले पनि चलिरहेको छ।

देशकै पर्यटकीय गन्तव्य मानिएको सन्दकपुर डाँडामा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्यु टावर निर्माणमा पनि एसएसबीले रोक लगाएको थियो । त्यो भ्यु टावर बन्दै गरेको जग्गा नेपालकै हो तर एसएसबीले आफ्नो भन्दै रोक लगाएको होे।

सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाइरहेको छ । इलामको ५२ किलोमिटर भूमि भारतसँग जोडिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad