ad ad

छापा खबर


प्रतिनिधिसभापछि प्रधानमन्त्रीलाई अब राष्ट्रियसभा पनि घाँडो!

प्रतिनिधिसभापछि प्रधानमन्त्रीलाई अब राष्ट्रियसभा पनि घाँडो!

नेपालखबर
पुस १३, २०७७ सोमबार ३:५४,

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफूविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि त्यसलाई विघटनै गरिदिए।

अब बस्ने राष्ट्रियसभा बैठक उनलाई घाँडो हुने भएको छ। यो खबर आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेकी छन्।

संसद्को सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेपछि संघीय संसद्को उपल्लो सदन राष्ट्रियसभा अब कसरी अघि बढ्छ भन्ने सर्वत्र चासोको विषय बनेको छ। संविधानतः प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रियसभाले आफ्नो केही निश्चित काम गर्न सक्छ तर सभाको बैठकमा उठ्ने विषयले प्रधानमन्त्री ओलीलाई निकै अप्ठ्यारोमा पार्ने देखिन्छ।

पुस १७ गते राष्ट्रियसभाको बैठक बस्नेगरी अधिवेशन आह्वान भएको हो। संसद् सचिवालयले निर्वाचन आयोगको पत्र नआएसम्म नेकपालाई सत्तापक्षकै सिटमा बस्ने व्यवस्थालाई कायम राखेको छ।

दाहाल–नेपाल समूहका सांसदले भने राष्ट्रियसभामा प्रतिपक्षको भूमिका खेल्ने प्रस्टै भएको छ। यसबाट राष्ट्रियसभामा सरकारले दुई विकल्प रोज्न सक्ने देखिएको छ। पहिलो विकल्पका रूपमा अधिवेशन दुईचार दिनमै अन्त्य गरिदिने र दोस्रो अधिवेशन चले पनि बैठक निकै लामो अन्तरालमा बोलाउने।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको भूमिका पनि प्रधानमन्त्रीलाई सहयोग पु¥याउने नै देखिएकाले सरकारलाई सहयोग पुग्नेगरी उनले बैठक बोलाउन सक्ने देखिन्छ।

‘तर अधिवेशन दुईचार दिनपछि नै अन्त्य गर्ने सम्भावना बढी देखिन्छ, किनभने बैठक लामो अन्तरालमा बोलाए हामी अध्यक्षलाई घेराबन्दी गर्नेछौं,’ दाहाल–नेपाल समूहका एक नेताले भने, ‘हामी संसद्मा प्रतिगमनविरुद्ध अवश्य नै प्रस्तुत हुनुपर्नेछ, जसबाट प्रधानमन्त्रीको कडा विरोध गर्ने नै छौं ।’ सरकारले गरेका धेरै कामको लथालिंग अवस्थाको विवरण, विभिन्न निकायमा भएका भ्रष्टाचारका विषयमा जोडदार आवाज उठाउने पनि उनले बताए।

राष्ट्रियसभा ५९ सदस्यीय छ। जसमा राष्ट्रियसभा अध्यक्ष तिमल्सिना र उपाध्यक्ष शशीकला दाहालबाहेक जोड्दा ५७ सदस्य हुन्छन्। तीमध्ये २४ जना सदस्य दाहाल–नेपाल समूहमा देखिएका छन्। राष्ट्रियसभा सदस्यमा गत असोज १ गते नियुक्त वामदेव गौतम तटस्थ देखिएका छन्। ओली समूहतर्फ २३ जना सांसद छन्।

नेपाली कांग्रेसका ६ जना सदस्य छन्। जनता समाजवादी पार्टीबाट तीनजना छन्। कांग्रेसका सांसद पनि संसद् विघटनको विषयबारे कडा रूपमा बोल्ने देखिन्छ भने सडकमै ओर्लिएकाले जनता समाजवादी पार्टीले पनि असंवैधानिक कदम भन्दै सशक्त आवाज उठाउने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .