ad ad

छापा खबर


अहिलेसम्म ११.१२ प्रतिशत मात्रै पुँजीगत खर्च

अहिलेसम्म ११.१२ प्रतिशत मात्रै पुँजीगत खर्च

नेपालखबर
पुस १३, २०७७ सोमबार १:१८,

सरकारले चालु आर्थिक वर्षको बितेका साढे पाँच महिनामा विनियोजित बजेटको जम्मा ११ दशमलव १२ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को बितेका साढे पाँच महिना (११ पुससम्म)मा ३९ अर्ब २४ करोड २८ लाख रुपैयाँ मात्र खर्च भएको खबर आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन्।

चालु आवका लागि सरकारले ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको छ । पुँजीगत खर्चमध्ये ११ दशमलव १२ प्रतिशत मात्र खर्च गरेको सरकारले विनियोजित बजेटको लक्ष्य भेट्न अबको करिब साढे ६ महिनाभित्र ८८ दशमलव ८८ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने हुन्छ ।

हाल मुलुकमा देखिएको प्रतिनिधिसभा विघटनलगायत राजनीतिक अस्थिरताका कारण आगामी दिनमा पुँजीगत खर्च हुन नसक्ने अवस्था उत्पन्न भएको सम्बन्धित सरोकारवालाको भनाइ छ। उनीहरूले आगामी वैशाखमा घोषित निर्वाचनका कारण मुलुकको विकास निर्माणका काममा अवरोध पुग्ने भएकाले पनि लक्ष्यअनुरूप पुँजीगत खर्च गर्न मुस्किल पर्ने बताएका छन्।

चालु आवमा भएको पुँजीगत खर्च प्रतिशतका हिसाबले बढी देखिए पनि खर्च आकारका हिसाबले यो निकै कम हो । गत आर्थिक वर्षको सो अवधिसम्म ९ दशमलव शून्य ८ प्रतिशत अर्थात् ३७ अर्ब ५ करोड रुपैयाँ मात्र पुँजीगत खर्च भएको थियो । सरकारले गत आवका लागि कुल ४ खर्ब ८ अर्ब रुपैयाँ पुँजीगत खर्चका लागि बजेट विनियोजन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .