ad ad

छापा खबर


कांग्रेसले जगायो प्रमुख प्रतिपक्षको भूमिकालाई न्याय गर्ने आशा

कांग्रेसले जगायो प्रमुख प्रतिपक्षको भूमिकालाई न्याय गर्ने आशा

नेपालखबर
मंसिर २९, २०७७ सोमबार २३:५६,

०७४ सालको निर्वाचनपछि प्रतिपक्षी बेन्चमा पुगेको कांग्रेसले निरन्तर खेप्दै आएको आरोप हो– प्रतिपक्षी दल निदायो, सरकारलाई खबरदारी गर्न सकेन।

तीन वर्षदेखि खेप्दै आएको आरोप चिर्दै कांग्रेसले सोमबार ७७ वटै जिल्लामा बृहत् प्रदर्शन गरेको छ । सभालाई सम्बोधन गर्दै नेताहरू आक्रामक रूपमा प्रस्तुत भएका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

तीन वर्षयता दुईपटक मात्रै कांग्रेस सडकमा देखिएको थियो । यसअघि १५ साउन ०७४ मा सरकारले जारी गरेको चिकित्सा शिक्षा विधेयकविरुद्ध र डा.गोविन्द केसीको समर्थन गर्दै ७७ वटै जिल्लामा कांग्रेसले विरोध प्रदर्शन गरेको थियो । त्यस्तै, पार्टीको एकमहिने जागरण अभियानका क्रममा २५ वैशाख ०७६ मा ७७ वटै जिल्लामा प्रदर्शन गरेको थियो।

प्रमुख प्रतिपक्षी दलका हैसियतमा संसद्मा पनि खरो उत्रिन नसकेको आरोप कांग्रेसमाथि लागेको थियो । सरकारले आफूखुसी संसद् अधिवेशन अन्त्य गर्दा पनि विज्ञप्ति निकालेर विरोध जनाउने औपचारिकताबाहेक कांग्रेसले केही गरेको थिएन । संसद् अधिवेशन अन्त्य भएको पाँच महिनासम्म कांग्रेसको उपस्थिति विज्ञप्तिमा मात्र देखिन्थ्यो, सडकमा कतै देखिएन । सोमबार भने देशैभर सडक तताएको छ।

सरकारले सर्वसत्तावादी चरित्र देखाएको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रणमा बेवास्ता गरेको, जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड गरेको, महिला हिंसा र बलात्कारका घटना वृद्धि भएकोलगायतका मुद्दा उठाएर कांग्रेस सडकमा उत्रिएको छ।

सबैजसो जिल्लामा केन्द्रीय सदस्यहरू पुगेका छन् । ठूला सहरहरूमा भएका विरोध सभालाई केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यहरूले सम्बोधन गरेका छन् ।

गत १७ मंसिरमा गृहजिल्ला तनहुँमा पुल उद्घाटन गर्न जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि सत्तारुढ नेकपाका कार्यकर्ताले दुव्र्यवहार गरेपछि कांग्रेस कार्यकर्ता एकाएक सडक प्रदर्शनमा उत्रिएका थिए । नेतृत्वले त्यसलाई सदुपयोग गर्दै ७७ वटै जिल्लामा सरकारविरुद्ध नारा घन्कायो ।

हेटौँडामा भएको विरोध प्रदर्शन र सभामा सहभागी कांग्रेस सभापति शेरबहादुर देउवाले एकदलीय सर्वसत्तावादी कम्युनिस्ट सरकारका विरुद्ध कांग्रेस सडकमा उत्रिएको बताए । ‘केपी ओली नेतृत्वको सरकारले एक दललाई मात्र माथि राखेर सर्वसत्तावाद लादिरहेको छ,’ उनले भने, ‘ओलीको नेतृत्व निरंकुश शासन पद्धतिमा अघि बढेका कारणका कोरोना महामारीबीच कांग्रेस सडकमा उत्रिनुपर्ने अवस्था सिर्जना भएको हो।’

देउवाले कम्युनिस्ट सरकारकै अकर्मण्यताका कारण देशमा राजावादीहरू सल्बलाएको आरोप लगाए । ‘लोकतन्त्रमा कुनै विरोध वा धर्ना हुनु सामान्य कुरा हो, तर राजा आऊ, देश बचाऊ भन्दै नारा सडकमा गुन्जिनुको कारण खोज्नुपर्छ, यसको मुख्य कारण अहिलेको सरकार नै हो,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .