‘उखुबाट चिनी बन्छ, चिनी गुलियो,
माफियाको गुलियोमा सरकार भुलियो’
किसानका लागि यो नारा कुनै सुन्दर सिर्जना होइन, कुरूप वास्तविकता हो । माइतीघर मण्डलामा आएका किसानको गाउँमा पृष्ठभूमि के छ?
सर्लाही धनकौल गाउँपालिका– २ का रुचा साह यतिवेला १० धुर घडेरी र घरसमेत साहुलाई बुझाउनुपर्ने चिन्तामा छन् । उनको ‘दोष’ यत्ति हो, उनले उखु किसानीबाट उन्नति हुन्छ भन्ने विश्वास गरेका थिए ।
६० वर्षका कानुको परिवारमा श्रीमती, दुई छोरा, दुई बुहारी र चार नाति–नातिनासहित १० जनाको परिवार छ । तर, सम्पत्तिको नाममा खपटाले छाएको एक तलाको घरबाहेक केही छैन । त्यो घर पनि उनले स्वदेशमा मात्र होइन, भारतको पन्जाबमा समेत ज्यामी गरेर जोडेका हुन् । तर, आफ्नै गाउँमा किसानी गर्छु भन्ने सोचेर उनले लगानी गरे, ‘किसानी गर्छु भनेँ, त्यसमा पनि उखुखेती त दशा लागेरै गरिएछ,’ उनी हरेश खान्छन् ।
यो खबर आजको नयाँ पत्रिका दैनिकमा सर्लाहीबाट श्रवण थापाले लेखेका छन्।
खेती गर्न आफ्नै जमिन थिएन, हुन्डा (भाडा) लिएर उनले उखु लगाए । कानुले २५ सय रुपैयाँ प्रतिकट्ठाका दरले स्थानीय महाजनको तीन बिघा जग्गा हुन्डामा लिएका थिए । तर, उखु बेचेको पैसा आएन, साहुले हुन्डा (जग्गा भाडा)को पैसा छाडेन । फलतः उनले आफैँ बस्ने घर पनि गत वर्ष नै साहुको नाममा बन्धकी सहीछाप गरिदिएका छन्।
उनले यता हुन्डाको रकमको ब्याज बढेको बढ्यै छ, उता उखु मिलले साँवा पनि दिने ठेगान छैन । त्यसमाथि साँझ–बिहान भेट हुने जग्गा साहुले ऋण निखन्न ताकेता गर्छन् । उता उखु मिल साहुको नाकमुख देख्ने ‘भाग्य’ उनलाई जुरेको छैन । उता घरनजिकैको अन्नपूर्ण चिनी उद्योगलाई आर्थिक वर्ष ०७४÷७५ मा बेचेको पाँच सय क्विन्टल उखुको एक पैसा पनि दिएको छैन।
हुन्डाबापतको तीन लाख एक वर्षसम्म तिर्न नसकेपछि साहुले अहिले ब्याजदर बढाएका छन्– अब, ३६ प्रतिशत । हो, तीन लाख रुपैयाँको ब्याज मात्रै एक वर्षमा एक लाख आठ हजार हुन्छ।
‘मिलले पैसा दिएको भए ऋणमा डुब्नु पर्दैनथ्यो,’ उनी भन्छन्, ‘घरनजिकै उद्योग खुलेपछि उखु बेच्न पाइन्छ भनेर खुसी लागेको थियो, तर यो त गरिब किसानको उठिबास लगाउन आएको रहेछ।’
Shares
प्रतिक्रिया