अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष ०७५/७६ मा अपराधका घटनामा ९ प्रतिशत वृद्धि भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार सार्वजनिक अपराधबाहेक सबै किसिमका अपराधका घटना बढेका छन्।
बलात्कार, लागुऔषध, चोरी र बैंकिङ कसुरजस्ता गम्भीर प्रकृतिका आपराधिक घटना अझ बढेेकाे खबर आजकाे नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्।
प्रहरीको तथ्यांकअनुसार आव ०७५/७६ मा ४३ हजार ४७ मुद्दा दर्ता भएका छन् । त्यसअघिको वर्ष ३९ हजार तीन सय १५ आपराधिक घटना भएका थिए ।
गत वर्ष दुई हजार दुई सय ३३ वटा बलात्कार तथा बलात्कार प्रयाससम्बन्धी उजुरी प्रहरीमा परेका छन् ।
जसअनुसार दैनिक औसतमा ६ भन्दा धेरै बलात्कारका घटना हुने गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ३३.७२ प्रतिशत बढी हो।
निर्मला पन्तको बलात्कार र हत्यापछि प्रहरीसहितका निकायले यस्ता अपराध नियन्त्रणका लागि विशेष अभियान चलाएका थिए । तर, अपराधका घटना झन् बढेका छन् ।
‘उजुरी दिनुपर्छ भन्ने चेतना बढेकाले पनि विगतको तुलनामा संख्या बढेको हुन सक्छ,’ प्रहरी प्रवक्ता विश्वराज पोखरेल भन्छन् । बलात्कारका थुप्रै घटनामा उजुरी पर्दैन।
दैनिक २ हत्या १५ आत्महत्या
हत्या र आत्महत्याका घटना पनि बढेका छन् । गत वर्ष ६ सय ५९ जनाको हत्या भएको छ । ८० प्रतिशत हत्याका घटना आवेशप्रेरित र आफन्तबाटै हुने गरेको प्रहरीको भनाइ छ।
त्यस्तै, आत्महत्याको संख्या पनि डरलाग्दो रूपमा बढेको छ । एक वर्षमा पाँच हजार सात सय ४९ जनाले आत्महत्या गरेका छन्।
अर्थात्, दैनिक औसत १५ व्यक्तिले आफूखुसी ज्यान दिन्छन् । अघिल्लो वर्ष पाँच हजार तीन सय १७ जनाले आत्महत्या गरेका थिए । पारिवारिक तनाव, गरिबी, गम्भीर रोगजस्ता कारणले आत्महत्या बढेको प्रहरीको मूल्यांकन छ।

प्रतिक्रिया