दाङका ऋषि परियार दुवै खुट्टामाथि पारेर गरिने ‘पुसअप’ मा विश्व कीर्तिमान कायम गर्ने दौडमा छन्।
गिनिजबुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म खुट्टामाथि पारेर एक मिनेटमा ५१ पटक मात्रै पुसअप गरेको रेकर्ड छ।
बेलारूसका सिर्हेई कुडायौले सन् २०१८ मे ३ मा ५१ पटक पुसअप गरेर विश्व रेकर्ड कायम गरेका थिए।
त्यो रेकर्डलाई कसैले पनि तोड्न सकेका छैनन्। तर, दाङ तुलसीपुर उपमहानगरपाकिा–३ निवासी ऋषि परियार यो रेकर्ड तोड्ने उद्देश्यमा छन्।
विश्व रेकर्डका लागि उनले सोमबार तुलसीपुरमा भिडियो रेकर्ड गरे। तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा परियारले एक मिनेटमा ६० पटक पुसअप गरेको भिडियोसमेत तयार पारेका छन्।
उक्त भिडियो तथा साक्षीहरुको भिडियोलाई गिनिजबुक अफ वल्र्ड रेकर्डको कार्यालयमा इमेल गर्ने ऋषिले बताए।
रेकर्ड भएको उक्त भिडियोसहित करीब एक लाख पठाउनुपर्छ। त्यसको नतिजा १०÷१५ दिनमा आइपुग्छ।
“मैले आज गरेको पुसअप गरेको भिडियो र साक्षीहरुको रेकर्ड गिनिजबुकको कार्यालयमा पठाउनुपर्छ”, उनले भने, “त्योसँगै करीब एक लाख पठाएपछि १०÷१५ दिनमा नतिजा आउँछ, यदि पैसा नपठाएको खण्डमा भने नतिजा आउन पाँच/सात महीना लाग्छ।”
तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकूद शाखाको सहयोगमा उनी गिनिजबुकमा नाम लेखाउने दौडमा लागेका हुन्।
गिनिजबुकमा नाम लेखाएर खेल क्षेत्रमा नेपालको नाम विश्वमै चिनाउने योजना रहेको उनले बताए। यसमा उपमहानगरपालिकाले पनि सहयोग गर्ने उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए।
ऋषिलाई गिनिजबुकमा नाम लेखाउन मद्दत गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाले एक लाख १५ हजार सहयोग गरेको छ।
तुलसीपुर निवासी परियारले गिनिजबुकमा नाम लेखाउन सफल भएमा खेल क्षेत्रमा तुलसीपुरको नाम अन्तर्राष्ट्रियस्तरमा पुग्नेसमेत पाण्डेले बताए।
ऋषिलाई गिनिजबुकमा नाम लेखाउन आवश्यक पर्ने रकम जुटाउन उपमहानगरपालिकाले पहल थाल्ने तुलसीपुर उपमहानगर युवा तथा खेलकूद संयोजक अमर नेपालीको भनाई छ।
हातले टेकेर तीन किलोमिटर हिँड्छन् ऋषि
ऋषिको गिनिजबुकमा नाम लेखाउने सपना अहिलेको होइन। उनी हातले टेकेर तीन किलोमिटर हिँडेर गिनिजबुकमा नाम लेखाउने दौडमा पनि छन्।
उनले चार महीनाअघि हातले टेकेर तीन किलोमिटर दुरी पार गरेको भिडियो गिनिजबुकको कार्यालयमा पठाएका थिए। त्यसको समेत नतिजाको पर्खाइमा छन् उनी।
विगत चार÷पाँच वर्षअघिदेखि गिनिजबुकमा नाम लेखाउने दौडमा रहेका ऋषि आर्थिक अभावमा त्यसले सफलता नपाएको बताउछन्। तर, जसरी पनि गिनिजबुकमा नाम लेखाएर छाड्ने उनको अठोट भने अझै छ। “अर्थाभावले मैले गिनिजबुकमा नाम लेखाउन सकेको छैन”, उनले भने, “तर एकपटक जसरी पनि गिनिजबुकमा नाम लेखाएरै छाड्छु।”
सानैदेखि खेल क्षेत्रमा रुचि राख्ने ऋषि जिम्न्यास्टिक, उफ्रने, दौडने, खेल खेल्ने गर्थे। यसमा उनको रुचि पनि बढी थियो।
प्रयास गर्दै जाँदा परियारले विस्तारै हातले उभिन सिके। अनि केही समयको प्रयासपछि विस्तारै–विस्तारै हिँड्न शुरु गरे। यसरी प्रयास गर्दै जाँदा हातले हिँड्न थालेको १३ वर्ष पुग्यो।
लामो सङ्घर्ष र प्रयासपछि उनी अहिले उकालो, आरालोसमेत हिँड्नसक्ने भएका छन्। यही सीपलाई लिएर विश्व कीर्तिमानी कायम गरी आफ्नो जन्मभूमि र देशलाई चिनाउने दौडमा छन्।

प्रतिक्रिया