कोरोना परीक्षण गराउनेमध्ये धेरै प्रतिशतमा संक्रमण देखिनुले अझै धेरै संक्रमित छुटेको हुन सक्ने दाबी विश्व स्वास्थ्य संगठनका अधिकारीहरूको छ।
नेपालमा कुल परीक्षण गराएकामध्ये २० प्रतिशत हाराहारीमा संक्रमण भेटिएको छ । मुलुकभरि आइतबार ८ हजार ३२ जनाको पिसिआर परीक्षण गरिएकोमा १६ सय ६९ संक्रमित भेटिए । पोजिटिभिटी दरका हिसाबले यो २०.७ प्रतिशत हो । यो खबर आजको नागरिकमा श्रीराम सुवेदीले लेखेका छन्।
‘उच्च पोजिटिभिटी दरले हामीले धेरै संक्रमितलाई परीक्षणमा छुटाइरहेको भन्ने देखाउँछ,’ नयाँ दिल्लीस्थित विश्व स्वास्थ संगठन (डब्लुएचओ) को पूर्वी तथा दक्षिण एसिया क्षेत्रीय कार्यालयका इम्युनाइजेसन तथा खोप विकास हेर्ने प्राविधिक अधिकृत डा.सुधीर खनालले भने। तर नीतिगत परिवर्तनका लागि यो दर मात्र पर्याप्त नहुने उनको भनाइ छ।
‘त्यसका लागि कुल परीक्षण संख्या, कति छिटो परीक्षण गरिएको छ भन्ने कुरा, समग्र परीक्षण रणनीति, कन्ट्याक्ट ट्रेसिङ र समग्र स्वास्थ्य सेवा क्षेत्रको क्षमताजस्ता विषय महत्वपूर्ण हुन्छन्,’ कोभिड–१९ महामारीसँग जुध्न गठित ‘साइन्टिस्ट नेपाल’ नामक इलेक्ट्रोनिक प्लेटफर्मले आयोजना गरेको ‘कोभिड–१९ खोपको विकासका चुनौती तथा अवसर’ विषयक अन्तक्र्रियामा डा.खनालले भने।
विश्वव्यापी रूपमा कोरोना भाइरस खोपको व्यग्र प्रतीक्षा भइरहेको उनले बताए । ‘तर खोपले भाइरसको निगरानी, सामाजिक दूरी कायम गर्नुपर्ने आवश्यकता, सम्पर्कमा आएकाको खोजी, आनीबानीमा परिवर्तन, मास्कको प्रयोग तथा हातको पर्याप्त सेनिटाइजेसनलगायत गैरऔषधिको आवश्यकतालाई प्रतिस्थापन गर्दैन,’ उनले भने।
कोरोना भाइरसका कारण आइतबारसम्म नेपालमा १३ सय २१ जनाको मृत्यु भइसकेको छ भने १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित छन् । पछिल्ला दिनमा मृत्युदर बढ्दो क्रममा छ । ‘जहाँ पोजिटिभिटी दर ५ प्रतिशतभन्दा बढी छ, त्यस्ता स्थानमा माइक्रो प्लानिङ गरेर महामारी नियन्त्रण गर्नु आवश्यक छ,’ खनालले भने।
Shares

प्रतिक्रिया