ad ad

छापा खबर


प्रधानमन्त्री ओली संसद् विघटन गर्ने मुडमा, प्रचण्ड-नेपाल पक्ष चनाखो

प्रधानमन्त्री ओली संसद् विघटन गर्ने मुडमा, प्रचण्ड-नेपाल पक्ष चनाखो

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार ०:६,

नेकपा विवाद नौ सदस्यीय सचिवालयबाट क्रमशः स्थायी कमिटी र केन्द्रीय कमिटीमा प्रवेश गर्ने ढोका खुलेको छ।

प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूह पार्टीको अन्तरविरोधलाई बेग्लाबेग्लै दस्ताबेजका रूपमा छलफल गर्न तयार भएपछि विवादको ‘फस्र्ट हाफ’ सकिएको छ।

अध्यक्ष ओलीको प्रतिवेदनसहित नेताहरू १० दिनपछि ‘सेकेन्ड हाफ’मा भेट्ने भएका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

दुई अध्यक्षका भिन्दाभिन्दै राजनीतिक प्रतिवेदनमाथि सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा छलफल गराउने नेकपाको बुधबारको निर्णयले अब बहुमत–अल्पमतका आधारमा अघि बढ्ने बाटो खोलेको छ । यसअघि नेकपामा दुई अध्यक्ष विभाजित भई बहुमत–अल्पमतबाट कुनै निर्णय भएका छैनन्।

‘प्रक्रियामा आउनु भनेको आफैँमा सकारात्मक हो । तर, विषयवस्तु वा अन्तर्वस्तु प्रस्तुत हुँदा कति मिलिन्छ, कति मिलिँदैन । मिल्यो भने सर्वसम्मत हुन्छ, मिलेन अल्पमत र बहुमतबाट निर्णय हुन्छ, त्यो पार्टी र पद्धति भनेको त्यही हो,’ वरिष्ठ नेता झलनाथ खनालले भने।

अबको १० दिनमा आ–आफ्नो तयारी
जनादेश पाए पनि पार्टीभित्रबाट साथ नपाएको भन्दै प्रधानमन्त्री संसद् विघटन गरेर ताजा जनादेश लिने मुडमा छन् । तर, संविधानले यो विकल्प नदिएको भन्दै ओलीले यसमा न्यायालयको साथ नपाउने संकेत पाएका छन्।

संसद् विघटनको बाटो अघि बढेमा संवैधानिक रूपमा टुंगोमा पु¥याउन नसकिने भएकाले अन्य विकल्पमा जान राष्ट्रपतिबाट पनि सुझाब आएको स्रोतहरूको भनाइ छ । तर, संसदीय दलमा बहुमत पु¥याएर आफ्नो भूमिका सुरक्षित गर्ने विकल्प ओलीसँग छ।

पूर्वमाओवादी र पूर्वएमालेको नेपाल समूहका सांसदहरूलाई समेत सहभागी बनाएर संसदीय दलमा बहुमत पु¥याउने ओलीको कसरत जारी छ । प्रतिवेदन लेख्न १० दिनको समय मागेका प्रधानमन्त्रीले यसबीचमा पहिलो तयारी संसदीय दलमा बहुमत पु¥याउनेमा लगाउनेछन्।

१० दिनसम्म पनि आफ्नो पक्षमा संसदीय दलमा बहुमत पु¥याउने अवस्था नआए पार्टी विभाजनका लागि अध्यादेशको विकल्पमा जाने ओली समूहको दोेस्रो र अन्तिम विकल्प छ । यहीबीचमा ओली समूहले ७७ वटै जिल्लामा आफ्नो पक्षको भेला गर्ने र केन्द्रीय राजनीतिबारे बिफ्रिङ गर्ने योजना बनाएको छ।

संख्या जोगाउन प्रचण्ड–नेपाल समूह चनाखो
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले जवाफी प्रतिवेदनका लागि १० दिनको समय मागेपछि त्यसमाथि प्रचण्ड–नेपाल समूहले सूक्ष्म निगरानी गर्ने रणनीति बनाएको छ।

यो समयमा संसदीय दलमा आफूसँग भएको बहुमतको अंकलाई यथावत् राख्ने र योबीचमा ओलीसँग संवादमा बसेका सांसदहरूसँग छलफल गर्ने योजना यो समूहको छ । खासगरी, पूर्वमाओवादी नेता रामबहादुर थापा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, हरिबोल गजुरेल र लेखराज भट्ट ओलीसँग नियमित संवादमा छन्।

संसदीय दलमा भोटिङमा जाँदा उनीहरू तटस्थ बस्छन् वा पक्ष–विपक्षीमा जान्छन् भन्ने अझै यकिन भएको छैन । यसबाहेक ओली समूहले जिल्ला–जिल्लामा भेला गरे त्यहाँको अवस्था हेरेर आफ्ना समूहका नेता–कार्यकर्तासँग संवाद बढाउने प्रचण्ड–नेपाल समूहको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .