छापा खबर


कोरोना संक्रमणको एक वर्ष : कहाँ चुक्यौँ हामी?

कोरोना संक्रमणको एक वर्ष : कहाँ चुक्यौँ हामी?

नेपालखबर
मंसिर ३, २०७७ बुधबार ४:१,

चीनमा कोरोना भाइरस देखा परेको एक वर्ष पूरा भएको छ। चीनकै हुबेई प्रान्तका ५५ वर्षीय व्यक्तिमा १७ नोभेम्बर २०१९ मा पहिलो पटक संक्रमण पुष्टि भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

त्यसयता विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ५६ लाख नाघेको छ।

कोरोना संक्रमणबाट बच्न कुनै औषधि पत्ता नलागे पनि वैज्ञानिकहरूले खोप (भ्याक्सिन) को विकास भने गरिरहेका छन्। विश्वव्यापी रूपमा दर्जनौं खोप उत्पादक कम्पनी परीक्षणको अन्तिम चरणमा छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

एक वर्षपछि खोपको परीक्षण सफल हुनु उपलब्धिमूलक भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डे बताउँछन्।

‘संक्रमणको एक वर्ष अवधिमा धेरै कुरा थाहा भएको छ। आसलाग्दो वातावरण निर्माण भएको छ’, डा. पाण्डे भन्छन्, ‘खोप परीक्षण ९५ प्रतिशत सफल भएको कुरा बाहिर आएको छ। जे जति दुःख पाउने हो, त्यो पाइसकियो। अब संक्रमण नियन्त्रणमा आउँछ जस्तो लाग्छ।’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार १ सय ८२ कम्पनीले खोपको क्लिनिकल परीक्षण गर्न आवेदन दिएकामा ३६ वटाले अनुमति पाएका छन्।

कहाँ चुक्यौं हामी?
नेपालमा कोरोना संक्रमण सुरु भएको १० महिना नाघेको छ। चीनकै उहानबाट नेपाल फर्किएका एक युवालाई नेपालमा पहिलो पटक गत माघ ९ गते संक्रमण भएको थियो। त्यसयता नेपालमा पनि संक्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ। यस अवधिमा कोरोनाका कारण १ हजार २ सय ४७ जनाले ज्यान गुमाइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा। सुशीलनाथ प्याकुरेल चीनमा संक्रमण देखापर्नेबित्तिकै पूर्वतयारी गर्न चुकेको बताउँछन्। लकडाउन अवधिमा पर्याप्त तयारी नगर्दा नेपालमा समुदाय स्तरमा संक्रमण विस्तार हुन पुगेको डा।.प्याकुरेलको ठम्याइँ छ। खुला सीमा, क्वारेन्टाइन, होल्डिङ सेन्टरको निर्माण एवं व्यवस्थापन गर्न चुकेको विज्ञहरू बताउँछन्।

‘अन्य मुलुकमा संक्रमण देखापर्नेबित्तिकै हामी पूर्वतयारीमा चुक्यौं। सरकारी विज्ञ र बाहिर रहेका स्वतन्त्र विज्ञको राय सल्लाहअनुसार सरकारले कार्यक्रम अघि सारेन’, डा. प्याकुरेल भन्छन्, ‘सिद्धान्त मिल्ने र नमिल्ने समेत गरी चार थरी विज्ञको भेला गराएर निर्णय गरेको भए आजको अवस्था आउने थिएन।’ मन्त्रालयले सिद्धान्त मिल्ने र आस्थाका आधारमा विज्ञ छनोट गरी राय सल्लाह लिँदा असफल हुन पुगेको उनी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad