छापा खबर


कोरोनाविरुद्धको खोप आम जनताको पहुँचमा कहिले पुग्ला?

कोरोनाविरुद्धको खोप आम जनताको पहुँचमा कहिले पुग्ला?

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार २:३,

संसारभर सबैको एउटै साझा चिन्ता छ, कोरोना भाइरसविरुद्धको खोपको विकास कहिले होला? यो आमनागरिकको पहुँचमा कहिले पुग्ला?

यसको उत्तर सहज छैन। तर, धेरैको अनुमान छ कि परीक्षणका क्रममा रहेका केही खोपले नोभेम्बर अन्तिमसम्ममा सफलता पाउनेछन्।

अर्को वर्ष मध्यसम्म आमनागरिकको पहुँचमा खोप पुग्नेछ। यो खबर आजको अन्नपूर्ण पोष्टमा खगेन्द्र भण्डारीले लेखेका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार खोप विकास गर्न विश्वभरका १ सय ८२ कम्पनीले क्लिनिकल परीक्षणका लागि आवेदन दिएकामा ३६ वटाले अनुमति पाएका छन्। फाइजर र बायोएनटेकबाहेक अन्य ९ वटा खोप तेस्रो चरणको परीक्षणमा छन्।

जर्मनीको बायोएनटेक कम्पनीसँग मिलेर फाइजरले विकास गरेको खोपको परीक्षण सफल भएको घोषणा गरेको छ। विभिन्न ६ देशका ४३ हजार ५ सय ५३ व्यक्तिमा गरिएको परीक्षणमा ९० प्रतिशत सफलता मिलेको फाइजर र बायोएनटेकको दाबी छ।

यस्तै खोप विकासमा सफलताउन्मुख कम्पनी हो मोडर्ना इंक। अमेरिकन बायोटेक्नोलोजी कम्पनी मोडर्ना इंकले पनि खोप विकासमा महत्त्वपूर्ण सफलतानजिक रहेको घोषणा गरेको छ। उसले तेस्रो चरणको परीक्षणअन्तर्गत ३० हजार व्यक्तिमा खोप परीक्षण गर्दै छ। जसमध्ये २५ हजार ६ सय ५४ जनाले दोस्रो खोप लिएका छन्।

मोडर्ना र फाइजर र बायोएनटेकले यही महिना अन्तिमसम्म सर्वसाधारणमा खोप प्रयोगका लागि आवश्यक अनुमति आपत्कालीन रूपमा प्राप्त गर्न अनुमति दिने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यी दुवैले अर्को वर्ष मध्यसम्म आमनागरिकको उपभोग गर्ने गरी खोपको विकास गरिसक्ने घोषणा गरेका छन्।

तेस्रो चरणको परीक्षणको अन्तिम चरणमा रहेको खोप हो, अक्सफोर्ड–एस्ट्राजेनेका बेलायत। अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको यो खोप डिसेम्बर अन्तिमसम्म तेस्रो चरणको परीक्षणको नतिजा आउन सक्छ। तर, क्रिसमसअघि नै नतिजा आउन सक्नेमा भने स्वयम् खोपका प्रमुख परीक्षण अन्वेषक ढुक्क छैनन्।

खोपका बारेमा अक्सफोर्ड भ्याक्सिन ट्रायलका प्रमुख अन्वेषक एन्ड्र्यु पोलार्डले भने, ‘यो वर्षको अन्तिमसम्म हामी खोप विकासमा सफल हुन्छौं।’ उनले सफलताको नजिक पुगे पनि ढुक्क हुने अवस्था नरहेको स्पष्ट पारे।

विश्व स्वास्थ्य संगठनले कुनै पनि खोपलाई आमनागरिकले प्रयोग गर्न मिल्ने गरी अनुमति दिइसकेको छैन। तर विभिन्न देशले खोप विकासलाई आफ्नो प्रतिष्ठाका रूपमा अगाडि बढाएका छन्। यति बेला शक्तिशाली मुलुकबीच कसले सबैभन्दा पहिला खोपको विकास गर्ने भन्ने प्रतिस्पर्धा छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad