जलस्रोतमा विश्वमै दोस्रो सम्पन्न राष्ट्रको स्थानमा रहेको नेपालका लागि यही जलस्रोतको उपयोगबाट हाइड्रोजन उत्पादन नयाँ सम्भावनाको क्षेत्र बनेको छ।
पानीबाट बिजुली निकाल्ने र त्यही बिजुली, उद्यमशीलता प्रवद्र्धनदेखि विदेश निर्यात गरेर समृद्धि हासिल गर्ने योजनामा सरकार तथा सरोकारवाला लागिरहँदा यसै चक्रको बीचबाट हाइड्रोजन उत्पादन र त्यसको खपत तथा निर्यातको सम्भावना देखिएको छ।
तर त्यसको उपयोगितामा सरकार तथा सरोकारवालले यथेष्ट गृहकार्य भने गर्नुपर्ने देखिएको खबर आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन्।
मुलुकभित्र विद्युत् उत्पादनको गति बढ्दै जाने तर आन्तरिक खपत तथा निर्यातको अवसर कमजोर देखिँदा उत्पादित बिजुली खेर जाने अवस्था सन्निकट छ।
सरकारले पाँच वर्षमा पाँच हजार, १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यमा काम गरिरहेको छ तर यो सबै विद्युत्को सदुपयोगका लागि नेपालमै हाइड्रोजन उत्पादन नयाँ सम्भावना बनेको छ।
एसियाली विकास बैङ्क (एडीबी) को केही महिनाअघिको अध्ययन प्रतिवेदनअनुसार नेपालमा हाइड्रोजन उत्पादन ऊर्जा क्षेत्रको नयाँ र प्रभावकारी विकल्प बन्ने देखिन्छ। एइमिङ जोउ, वेई जोउ र पुष्कर मानन्धरले गरेको संयुक्त अध्ययनअनुसार नेपालको जलस्रोतको सम्भावना हाइड्रोजनमा प्रबल छ।
सबैभन्दा हलुका ग्यास हाइड्रोजन अत्यन्तै प्रभावकारी ऊर्जा संवाहक हो । मानन्धरका अनुसार हामीले प्रयोग गर्ने एलपी ग्यासभन्दा हाइड्रोेजनमा दोब्बरभन्दा धेरै ऊर्जा घनत्व रहन्छ । एक केजी हाइड्रोजनले २० हजार युनिट विद्युत् प्रवाह गर्छ । हाइड्रोजनबाट पुनः विद्युत् उत्पादन गर्न प्रयोग गरिने उपकरण फ्युलसेलको दक्षता बढ्दै जाँदा यो ३० हजार युनिटसम्म पुग्नसक्छ।
Shares

प्रतिक्रिया