ad ad

छापा खबर


रुट बदल्दै सुन तस्करी, यी हुन् नयाँ रुट

रुट बदल्दै सुन तस्करी, यी हुन् नयाँ रुट

नेपालखबर
साउन ११, २०७६ शनिबार २३:४६,

संगठित तस्करहरूले चीन र खाडी देशबाट नेपाल भित्र्याइएको अवैध सुन रुट बदल्दै भारतीय बजारसम्म पुर्‍याउने गरेका छन्।

पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रसुवाको केरुङ नाकाबाट नुवाकोट हुँदै काठमाडौं भित्रिने ठूलो परिमाणको सुन स–सानो परिमाणमा गाडीबाट भारतीय बजारसम्म पुर्‍याइन्थ्यो।

सरकारले ती दुवै ठाउँमा कडाइ गरेपछि तस्करहरूले फरक शैली र रुट प्रयोग गरेको पाइएको छ।

साउन ९ मा गोरखाको धार्चे गाउँपालिका–३ को ओडारमा भेटिएको १६ केजी अवैध सुन पछिल्लो उदाहरण हो। यो खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।

गृह मन्त्रालयमा साउन ७ मा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले संगठित सुन तस्करी नियन्त्रणमा मूलभूत रूपमा सफल रहेको र तस्करीको सन्जाल ध्वस्त भएको दाबी गरेको दुई दिनपछि गोरखामा अवैध सुन भेटिएको थियो।

प्रहरीका उच्च अधिकारीहरू चल्तीको रुट र शैली बदलिए पनि संगठित सुन तस्करी निरन्तर भइरहेको बताउँछन्।

अहिले तस्करहरूले केरुङ नाकाबाट भित्रिएको सुन गोरखा र लमजुङका विभिन्न रुट हुँदै पोखरा पुर्‍याएर बुटवल हुँदै सुनौली नाका कटाएर भारत पुर्‍याउने गरेको देखिन्छ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार लमजुङ, गोरखा, चितवन हुँदै भारत पुर्‍याउने अर्को गिरोह पनि सक्रिय हुन थालेको देखिन्छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम अधिकारीका अनुसार ओडारमा भेटिएको सुन गोरखा र तिब्बतको सिमानामा रहेको छेकम्पार नाका हुँदै भित्रिएको अनुमान छ।

छेकम्पारबाट गोरखा सदरमुकामा आउन तीन दिनको पैदल यात्रा गर्नुपर्छ। व्यापारीहरूले घोडा र खच्चड प्रयोग गरेर सामान ओसारपसार गर्छन् । सामान ओसारपसार गरिने त्यही रुटलाई संगठित सुन तस्करहरूले उपयोग गरेको प्रहरीको अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .