बजारमा छ्याप्छ्याप्ती विषाक्त रसायन मिसाइएका सेनिटाइजर बिक्री भइरहेकाे पाइएको छ।
कोरोना भाइरस संक्रमणबाट जोगिन ह्यान्ड सेनिटाइजर प्रयोग बढ्दै जाँदा बजारमा अवैध तरिकाले विषाक्त रसायन मिसाइएका सेनिटाइजर बिक्री भइरहेको पाइएको हो।
औषधि व्यवस्था विभागले अनुगमन क्रममा १८ कम्पनीका सेनिटाइजर विषाक्त रहेको भेटाएको हो। विभागले ती कम्पनीका सेनिटाइजर उत्पादन, प्रयोग र बिक्रीमा रोक लगाएको छ। बजारमा भेटिएका विषाक्त सेनिटाइजरमा मिथानोल मिसावट पाइएको हो।
गत २७ भदौदेखि १२ असोजसम्म देशभर भेटिएका १८ वटा विषाक्त स्यानिटाइजरमध्ये १५ कम्पनीका उत्पादनमा ज्यानै जान सक्ने विषाक्त मिथानोल मिसाइएको देखिएको छ।
विभागद्वारा जारी सूचनामा ‘बजारमा विक्री वितरणमा रहेका ह्यान्ड स्यानिटाइजरको नमुना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्ड इन्स्टेन्ट ह्यान्ड स्यानिटाइजर अलकोहल बेस्डसम्बन्धी स्तर २०७६ विपरीत विषाक्त रसायन समावेश भएको देखिएको’ उल्लेख छ।
विभागका सूचना अधिकारी सन्तोष केसीले ह्यान्ड स्यानिटाइजरमा मापदण्डविपरीतका समिश्रण पाइएकाले मानव शरीरमा गम्भीर असर पार्ने हुँदा प्रयोग नगर्न नगर्न आग्रह गरे। उनका अनुसार महामारीको मौका छोपी ज्यानै लिनेसम्मको हानिकारक रसायन मिसाइएको र कतिपयमा गुणस्तर मापदण्ड पूरा नभएको पाइएपछि प्रयोगमा रोक लगाइएको हो।
विभागले भारतमा रहेको सिभिका कस्मेक्युटिकल्स लिमिटेड, पर्सास्थित आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रिज, काभ्रे बनेपास्थित कुमकुम हर्बल इण्डस्ट्रिज, ललितपुरस्थित ओम आरोग्य हेल्थकेयर प्रालि, काठमाडौंस्थित साधना सप्लायर्स, काठमाडौंस्थित कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजले उत्पादन गरेको स्यानिटाइजरमा कैफियत देखिएको जनाएको छ।
त्यस्तै, चीन गुआङघऔ ओवोपेकल फाइन केमिकल लिमिटेड, ललितपुरस्थित सम्पदा हेल्थ केयर, काठमाडौंस्थित श्रीनाथ हरबल एण्ड कस्मेटिक इन्डिष्ट्रिले उत्पादन गरेको ह्यान्ड स्यानिटाइजरमा समेत कैफियत देखिएको छ। याे खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका हुन्।
उपभोक्तालाई विषादियुक्त स्यानिटाइजरको असरबारे उजुरी गरे कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारबाही गर्न सकिन्छ ।
औषधिमा मिसावट र मिसावट भएको औषधि बिक्री गरेका कारण ज्यानलाई खतरा पुग्ने सम्भावना भएमा जन्म कैद वा दस वर्षसम्म कैद र जरिवाना, शरीरको कुनै अगंको शक्ति क्षीण वा हरण हुनसक्ने भए दस वर्षसम्म कैद र जरिवाना तथा अन्य अवस्थामा पाँच वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
कस्तो स्यानिटाइजर प्रयोग गर्ने?
– औषधि व्यवस्था विभागमा दर्ता भएको
– लेबलमा स्पष्ट रूपमा ७० देखि ८० प्रतिशत अलकोहलको मात्रा खुलेको
– स्यानिटाइजरको लेबलमा भ्रामक प्रचार नभएको
– सकभर साबुनपानी नै प्रयोग गर्ने

प्रतिक्रिया