ad ad

छापा खबर


कोरोना कहर : २३ सय २० प्रहरीमा संक्रमण पुष्टि

कोरोना कहर : २३ सय २० प्रहरीमा संक्रमण पुष्टि

नेपालखबर
भदौ २३, २०७७ मंगलबार ०:५३,

शान्ति सुरक्षाका लागि सबैभन्दा अग्रमोर्चामा खटिने प्रहरीमा कोरोना संक्रमणको जोखिम अन्य सुरक्षा संगठनमा भन्दा बढी देखिएको छ।

सुरक्षाका लागि भन्दै विभिन्न स्थानमा हुने आन्दोलन तथा कार्यक्रमको भीड नियन्त्रण, प्राकृतिक विपत्ति तथा दुर्घटनामा ‘रेस्क्यु’का लागि तत्कालै पुग्नुपर्ने प्रहरीमाथि अन्य सुरक्षा संगठनमा भन्दा बढी जोखिम देखिएको छ।

अझै काठमाडौं उपत्यकामा खटिएका प्रहरीमा अन्यत्रको भन्दा संक्रमणको जोखिम धेरै देखिँदै आएको छ । गत बिहीबार ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ यात्राको भीड नियन्त्रणका क्रममा खटिएका १८ प्रहरीमा भोलिपल्ट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

सोही दिन प्रहरीले पुल्चोकबाट पक्राउ गरेका १७ जनामध्ये ६ जनामा सोमबार संक्रमण पुष्टि भएको छ।

यसैगरी, गोंगबु क्षेत्रमा दुई साताअघि भएको छुरा प्रहारको घटनामा पक्राउ परेका एक व्यक्तिलाई संक्रमण देखिएपछि गरिएको पिसिआर परीक्षणमा ती व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा खटिएका महराजगन्ज प्रहरी वृत्तका ३९ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले नेपाल प्रहरीको कर्तव्य नै आफू जोखिममा परेर पनि देश र जनताका पक्षमा सावधानी अपनाएर खटिनुरहेको बताए।

‘अहिलेको अवस्थामा संक्रमणको जोखिम प्रहरी संगठनमा बढी छ । गाडी, बाटो, भीड, दुर्घटना तथा रेस्क्युमा पहिले प्रहरी नै पुग्नुपर्छ, त्यहाँ संक्रमण कसलाई छ या छैन, हेरिँदैन । पहिले काममा ध्यान दिइन्छ, त्यो कर्तव्य हाम्रो हो,’ प्रहरी प्रवक्ता कडायतले भने।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार सोमबारसम्ममा नेपाल प्रहरीका २ हजार ३ सय २० जनामा संक्रमण पुष्टि भइसकेको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्। गत जेठमा सुरुमा एक प्रहरी जवानमा संक्रमण देखिएको थियो।

तथ्यांकअनुसार कुल संक्रमितमध्ये ९ सय ७४ जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको र १ हजार ३ सय ४६ जना उपचारकै क्रममा रहेको प्रहरी प्रवक्ता कडायतले जानकारी दिए।

जसअनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सबैभन्दा बढी ६ सय ६४ जना संक्रमित छन् । त्यसमध्ये ५ सय ५८ जना अझै उपचाररत छन्।

प्रधान कार्यालयमा मात्रै हलसम्म ३ सय ८९ जना संक्रमित देखिएका छन् । त्यसमध्ये ३ सय ८ जना उपचारपछि घर फर्किएका र ८१ जनाको उपचार जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .