छापा खबर


ठेलामा तरकारी बेच्ने यी महिला जसले ३७ लाख श्रमजीवीको आवाज बोलिन्

ठेलामा तरकारी बेच्ने यी महिला जसले ३७ लाख श्रमजीवीको आवाज बोलिन्

नेपालखबर
भदौ २१, २०७७ आइतबार २३:४४,

सामाजिक सञ्जालमा छाइरहेकी यी महिलालाई हामीले किन पछ्यायौँ? किन उनको आवाज यति महत्वपूर्ण छ? किनकि, यो देशका तीन करोड जनसंख्यामध्ये दुई करोड आठ लाख मान्छे काम गर्ने उमेरका छन् ।

तर, तीमध्ये ६० प्रतिशत अर्थात् एक करोड २३ लाखले गरेको काम रोजगारीको परिभाषामै पर्दैनन् । उनीहरूले काम गर्छन्, तर उनीहरूको उत्पादन बजारमा बिक्री हुँदैन । उनीहरूले तलब पनि पाउँदैनन् ।

रोजगारी गर्ने भनिएका ८० लाखमध्ये ५७ लाख अनौपचारिक क्षेत्रमा छन् । जसको नियमित तलब आउँदैन । महामारीले उनीहरूको जीवनमा आर्थिक विपत्ति ल्याएको छ । उनीहरूका लागि सरकारले आर्थिक प्याकेज ल्याउनुपर्ने हो, तर यति लामो लकडाउनमा कतिले रोजगारी गुमाए भन्ने तथ्यांकसमेत सरकारले संकलन गरेको छैन।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ०का अनुसार निर्माण, उत्पादन तथा व्यापारजस्ता कोभिडबाट अत्यन्तै प्रभावित क्षेत्रमा ३७ लाख मजदुर छन् । तीमध्ये १५ देखि २० लाखले रोजगारी गुमाएको वा आंशिक रूपमा आम्दानी गुमाएको आइएलओको भनाइ छ ।

त्यसमध्ये १३ लाख पुरुष तथा ६ लाख ३१ हजार महिलाको रोजगारी संकटमा परेको छ । तीमध्ये एक हुन् सरस्वती मैनाली। यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

काभ्रे नमोबुद्ध-६ कानपुरकी ३९ वर्षीय सरस्वती (सुभद्रा) सात वर्षदेखि चाबहिलस्थित गोपीकृष्ण हल आसपास ठेलागाडामा तरकारी बेच्छिन् । चाबहिलको गल्लीभित्र एउटा साँघुरो कोठामा उनको परिवार बस्छ ।

बिहान–बेलुकाको छाक टार्न, कोठा बहाल तिर्न र औषधि खान उनीसँग अर्को विकल्प छैन । तरकारीले भरिएको ठेलगाडा लिएर उनी टोलका गल्ली–गल्ली डुल्छिन् । ठेलागाडा कहिले ठेल्छिन्, कहिले अगाडिबाट तान्छिन् ।

११ चैतमा लकडाउन सुरु भयो । केही साता उनी पनि डराएर घर बसिन् । भएको दुई–चार हजारले छाक पनि टरिरहेको थियो । तर, भएको पैसा सकिएपछि आपत् आइलाग्यो । श्रीमानलाई मूच्र्छित हुने समस्या छ, उनी औषधि खाइरहेका छन् ।

बरु श्रीमान्लाई उपचारका लागि अस्पताल लैजानुपर्छ । छोरी पनि सानै उमेरमा दीर्घरोगी छिन् । एक छोरा बालक नै छन् । यस्तो परिवारको जिम्मेवारी लिएकी सरस्वती आफैँ मिर्गौलाको बिरामी हुन् । उपचारमा मात्रै महिनामा पाँच हजार रुपैयाँ आवश्यक पर्ने । यी सब कसरी धान्ने?

‘धनीमानीका लागि अहिले कोरोना महामारी आयो, हामीजस्ता गरिबका लागि त सधैँ महामारी छ,’ सरस्वतीको वाणी सुनिन्छ, ‘सरकारले घरभित्र बस्न भन्यो, ठीकै छ, तर चुलो कसरी बाल्ने, औषधि कसरी खाने? बाँच्ने कसरी भनेर भनिदिने कोही आएन ।’

सरकारले घरभित्र बस्न भनेको थियो, घरभित्रको परिस्थितिले भने उनलाई ढोकाबाट बाहिर धकेल्यो । वैशाख महिनाको पहिलो साता । अपराह्न ४ बजे आसपास । उनले पार्क गरिएको गाडा झिकिन् । जसोतसो हरियो साग जम्मा गरेर गाडामा राखिन् । गाडा ठेल्दै चाबहिल चोकतर्फ लागिन् ।

मिर्गौलाको समस्याले बिहानैदेखि कोखो दुख्दै थियो । पीडा कम गर्न बिहानै तीनवटा बु्रफिन खाइसकेकी थिइन् । गाडा मूल सडकमा मात्रै के उक्लिँदै थियो, कोखा झन् दुख्न थाल्यो । गाडा साइड लगाएर नजिकैको मेडिकल पुगिन् । ब्रुफिन किनिन् । खोलेर खान मात्रै के लागेकी थिइन्, प्रहरीको भ्यान गाडा सामुन्ने रोकियो । भ्यानबाट एक महिला प्रहरी झरिन् । एक लात के हानेकी थिइन्, गाडा फर्लक्क पल्टियो।

‘साग सडकमा असरल्ल खनियो । सडकमा पोखिएका ढक–तराजु प्रहरीले उठाउन थाले,’ सरस्वती भन्छिन्, ‘ढक–तराजु उठाउन थाले । दया पो पलाएछ कि भनेर सोचेँ । तर होइन रहेछ, ढक–तराजु भ्यानमा हाले । जफत पो गरेका रहेछन् ।’

औषधि फालेर सडकमा झरिन् । ढक–तराजु तान्न थालिन् । प्रहरीसँग तानातान भयो । तर, बलिया प्रहरीसँग निर्धो बिरामीको केही लागेन । प्रहरीले ठेल्दा उनी हुर्रिएर आफ्नै गाडामा परिन् । उनी भन्छिन्, ‘मलाई चोट लाग्यो, रगत आयो । यस्तो दुख्यो कि मेरो पिसाब पनि चुहियो ।’

रन्थनिएकी उनलाई त्यही अवस्थामा छाडेर प्रहरीको गाडी हुइँकियो । ‘कत्रा–कत्रा भ्रष्टाचार गरेका छन् । लुकेर सुनको कारोबार गर्छन् भन्ने सुनिन्छ । तिनलाई छुट छ । तर, तरकारीको कारोबार गर्ने गरिबको ढक–तराजु जफत गरेर बहादुरी ग¥यो भन्ने ठान्यो,’ सरस्वतीले आक्रोश पोखिन् ।

त्यो आक्रोश कसैले भिडियोमा रेकर्ड गरेको थियो । जसमा सरस्वतीले भनेकी थिइन्, ‘बिरामी हौँला भन्ने हामीलाई पनि डर हुन्छ, बसिखान कसलाई मन हुँदैन? तर, दिनदिनै ब्रुफिन र निम्स खाएर हिँडिरहेकी छु, दुःख नपाएको भए गाडा डो¥याएर को हिँड्थ्यो?’ उनको घटना वैशाख महिनाको हो ।

तर, अहिले आएर फेरि किन सामाजिक सञ्जालमा सञ्चार भइरहेको छ? किनकि पीडा जस्ताको त्यस्तै छ । सरकारले निषेधाज्ञाका नाममा घरमा बस्न भनेको छ, बस्न नमान्नेमाथि बल प्रयोग भएको छ । तर, घरभित्र के खाने? जवाफ छैन ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .