ad ad

छापा खबर


दसैंमा पनि मेलम्चीको पानी काठमाडौं नआउने

दसैंमा पनि मेलम्चीको पानी काठमाडौं नआउने

नेपालखबर
भदौ १५, २०७७ सोमबार १:२१,

मुख्य संरचना सुरुङमार्गमा डिजाइनसहित पुनः गेट जडान गर्नुपर्ने भएपछि काठमाडौं उपत्यकावासीले आउँदो दसैंमा पनि मेलम्चीको पानी नपाउने निश्चित भएको छ।

बहुप्रतीक्षित तथा बहुचर्चित मेलम्चीको पानी काठमाडौं पुर्‍याउन अझै कम्तीमा पाँच महिना लाग्ने देखिएको खबर आजको नागरिक दैनिकमा सिन्धुपाल्चोकबाट ध्रुब दंगालले लेखेका छन्।

पटकपटक भाका सार्दै आएको सरकारले पछिल्लोपल्ट आउँदो दसैंसम्म उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने वाचा गरेको थियो।

डिजाइन र जडानमै त्रुटि भेटिएको हालको गेट झिकेर नयाँ स्वरूपमा राख्नुपर्ने भएकाले मेलम्ची आयोजना पछाडि धकेलिन लागेको आयोजनाका उपकार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताए। नयाँ डिजाइनअनुसार गेट मात्र राख्न तीन महिना लाग्छ,’ उनले भने, ‘दसैंसम्म मेलम्चीको पानी राजधानी पुर्याउन अब सम्भव रहेन।’

परीक्षणमा रहेको सुरुङमार्गको अम्बाथानस्थित अडिट टनेलको १७ नम्बर गेट असार ३० गते खुलेर दुर्घटना भएपछि त्यसको डिजाइन र जडानमै त्रुटि भएको फेला परेको थियो। गेट खुल्दा निरीक्षणमा रहेका चार कर्मचारीलाई सुरुङबाट बाहिरिएको पानीले बगाएको थियो।

तीमध्ये दुईलाई तत्काल घाइते अवस्थामा उद्धार गरिएको थियो। घटनाको तीन दिनपछि इन्द्रावती नदीमा बेपत्ता एक इन्जिनियरको शव फेला परे पनि एक कर्मचारी अझै बेपत्ता छन्।

खानेपानी मन्त्रालयद्वारा सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा गठित विज्ञ सम्मिलित छानबिन प्राविधिक समितिले गेट डिजाइन र जडानमा त्रुटि औंल्याएको थियो। ६ सदस्यीय समितिले घटनास्थलसहितको अध्ययन गरी साउन दोस्रो साता सुझावसहित प्रतिवेदन मन्त्रालयलाई बुझाएको थियो। समितिको सुझावअनुसार गेटमा भएको त्रुटि सच्याउने काम थालिएको उपकार्यकारी निर्देशक श्रेष्ठले बताए।

उनका अनुसार अहिले गेट निकाल्ने काम भइरहेको छ। साढे २६ किलोमिटर लामो सुरुङको अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजल अडिटमा गरी चारवटा गेट छन्। सुझावअनुसार चारैवटा गेट निकालेर नयाँ स्वरूपमा जडान गरिनेछ। खुलेको अम्बाथानस्थित १७ नम्बर गेट र ग्याल्थुम अडिटको गेट निकालिसकिएको छ। ‘गेट निकाल्न विस्फोट नै गर्नुपर्ने हुन्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .