छापा खबर


अनियमिततामा मुछिएका ईश्वर पोखरेलका सम्धीलाई पटक-पटक राजनीतिक नियुक्ति

अनियमिततामा मुछिएका ईश्वर पोखरेलका सम्धीलाई पटक-पटक राजनीतिक नियुक्ति

नेपालखबर
भदौ ९, २०७७ मंगलबार २३:४६,

पटक–पटक राजनीतिक नियुक्ति खाएका र पदमा हुँदा अनियमिततामा मुछिएका प्राडा उपेन्द्र कोइरालालाई सरकारले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्त गरेको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी कोइरालालाई बैंकको अध्यक्ष बनाउने योजनाअनुसार अर्थमन्त्री डा.युवराज खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै सञ्चालकमा नियुक्त गरेका हुन्।

कोइरालालाई सञ्चालकमा मनोनीत गरिएको पत्र अर्थ मन्त्रालयले सोमबार नै बैंकमा पठाइसकेको छ । स्रोतका अनुसार बुधबार बस्ने बैंक सञ्चालक समितिको बैठकबाट उनलाई अध्यक्ष चयन गर्ने तयारी छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बुधबार सञ्चालक समितिको बैठक डाकिएको र बैठकले अध्यक्ष चयन गर्ने बताए।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) र कम्पनीको प्रबन्धपत्र नियमावलीमा सञ्चालक समितिको बैठकले सदस्यमध्येबाट अध्यक्ष चयन गर्ने व्यवस्था छ।

हाल सञ्चालक समितिमा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा, चार्टर एकाउन्टेन्ट जनककुमार बराल, प्राडा माधवप्रसाद दाहाल, प्राडा राजनबहादुर पौडेल र रोमिला ढकाल उप्रेती छन् । बैंकका अध्यक्ष निर्मलहरि अधिकारी राजस्व बोर्डको सदस्य नियुक्त भएपछि सञ्चालक तथा अध्यक्ष पद रिक्त थियो ।

सत्ता र सम्धीको बलमा कोइरालाले यसअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति, नेपाल आयल निगमको महाप्रबन्धक, उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्ष, नेपाल खाद्य संस्थानको महाप्रबन्धक, त्रिभुवन विश्वविद्यालय छापाखाना सञ्चालक समितिको अध्यक्ष, महेन्द्र मोरङ क्याम्पस विराटनगरको प्रमुखको नियुक्ति खाइसकेका छन्।

तत्कालीन एमाले र अहिलेको नेकपाभित्र उनी एउटा नियुक्ति सकिनासाथ अर्को पड्काउन सफल ‘भाग्यमानी’का रूपमा चिनिन्छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमामा भवानीश्वर गौतमले छापेका छन्।

गत वर्षको भदौमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिको कार्यकाल सकिएपछि उनले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति खान धेरै ‘लबिङ’ गरेका थिए । तर, सफल भएनन् । तर, ‘ईश्वर दाहिना भएपछि’ वाणिज्य बैंक सञ्चालक समिति अध्यक्ष खाने लगभग पक्का भएको छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार पछिल्लो समय उपप्रधानमन्त्री पोखरेलले कोइरालालाई जुनसुकै पदमा भए पनि नियुक्ति दिन अर्थमन्त्री खतिवडालाई दबाब दिँदै आएका थिए । कोइरालाको बायोडाटा अर्थ मन्त्रालयमा पुगेको पनि लामो समय भइसकेको थियो।

‘उहाँको बायोडाटा मन्त्रालयमा आएको धेरै भइसकेको थियो, यसअघि रिक्त पदहरूमा नियुक्ति दिन प्रयास गरिएको भए पनि मिलेको थिएन,’ स्रोतले भन्यो, ‘अहिले वाणिज्य बैंकको अध्यक्ष पद खाली भयो, यसमा उहाँको पनि इच्छा देखियो, अध्यक्ष बनाउने गरी उहाँलाई सञ्चालकमा नियुक्ति दिइएको हो।’

म्पस प्रमुखदेखि खाद्य संस्थानसम्म, उच्च माध्यमिक शिक्षा परिषद्देखि आयल निगमसम्म, उपकुलपतिदेखि वाणिज्य बैंकसम्मको नियुक्ति

कहाँ–कहाँ खाए उपेन्द्र कोइरालाले नियुक्ति?

उपकुलपति, मध्यपश्चिमाञ्चल विश्वविद्यालय
उपाध्यक्ष, उच्च माध्यमिक शिक्षा परिषद्
महाप्रबन्धक, नेपाल खाद्य संस्थान
महाप्रबन्धक, नेपाल आयल निगम
अध्यक्ष, त्रिवि छापाखाना सञ्चालक समिति (दुई कार्यकाल ०६२–०६६)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad