ad ad

छापा खबर


कार्यदलले तयार गर्‍याे विवाद समाधानको खाका : ओलीको प्रधानमन्त्री र अध्यक्ष पद के होला?

कार्यदलले तयार गर्‍याे विवाद समाधानको खाका : ओलीको प्रधानमन्त्री र अध्यक्ष पद के होला?

नेपालखबर
भदौ ६, २०७७ शनिबार २:५६,

पार्टीभित्रको विवाद समाधान गर्ने उद्देश्यले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलले सहमतिको खाकासहितको प्रतिवेदन तयार पारेको छ।

प्रतिवेदन छिटै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइने तयारी गरिएको कार्यदलका एक सदस्यले बताए।

अध्यक्षद्वय ओली र दाहालका बीचमा पछिल्लो समय सरकारी नियुक्तिका विषयमा विवाद भएकाले प्रतिवेदन बुझाउनमा केही ढिलाइ भएको ती सदस्यले बताए। यो खबर आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन्।

‘भोलि या पर्सि (शनिबार वा आइतबार)सम्म बुझाउँछौं, हामीले काम सकेर अन्तिम चरणमा पुगेका छौं,’ ती सदस्यले भने, ‘प्रतिवेदन कार्यान्वयन भए पार्टीको विवाद समाधान हुन्छ।’

नेकपा महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहने गरी ६ सदस्यीय कार्यदल गत शुक्रबार गठन भएको थियो । कार्यदलले गत शनिबारदेखि काम सुरु गरेको हो।

कार्यदलका एक सदस्यका अनुसार गत ४ मंसिर २०७६ मा भएको सहमतिअनुसार नै प्रतिवेदनमा ओली र दाहालको कार्यविभाजनलाई पुनव्र्याख्या गरिएको छ । ओलीले पूर्ण रूपमा सरकार सञ्चालन गर्ने र दाहालले कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने गरी प्रतिवेदन तयार गरिएको छ।

स्थायी कमिटीमा माग भएअनुसार ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनु नपर्ने व्यवस्था गरिएको छ।

दाहालले पार्टी एकताको काम सकेर गत माघमा केन्द्रीय कमिटीले गरेको निर्णयअनुसार आगामी चैत अन्तिम साता एकता महाधिवेशनको तयारी गर्ने गरी कार्यविभाजन भएको छ। ओलीले सरकार सञ्चालन गर्ने क्रममा महत्वपूर्ण नियुक्तिका विषयमा पार्टीमा छलफल र निर्णय गरेर गर्ने गरी अगाडि बढ्नुपर्ने विषय पनि प्रतिवेदनमा समेटिएको छ।

‘मुख्यतः ४ मंसिरकै सहमतिअनुसारका अधिकारहरू पुनव्र्याख्यासहित दुवै अध्यक्षलाई जिम्मेवार बनाउने गरी प्रतिवेदन तयार भएको छ,’ कार्यदलका ती सदस्यले भने, ‘एकले अर्कालाई असहयोग होइन कि सहयोग र सहकार्य गरेर सहमतिमै एकता महाधिवेशन टुंगो लगाउनेसम्मको कार्ययोजना बनाएका छौं।’

गत शुक्रबार गठन भएको कार्यदललाई सोमबारको सचिवालय बैठकले औपचारिकता प्रदान गरेको थियो । त्यसयता कार्यदलका सदस्यहरूले अध्यक्षद्वय ओली र दाहालका साथै वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपालसहितका शीर्ष नेतासँग छलफल गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .