ad ad

छापा खबर


विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन यस्ताे हुँदैछ तयारी

विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन यस्ताे हुँदैछ तयारी

नेपालखबर
भदौ १, २०७७ सोमबार ३:१२,

विद्यालय तहको पाठ्यक्रमको भार घटाएर भए पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने गृहकार्यमा सरकार जुटेको छ।

शैक्षिक सत्र खेर जाँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्ने, सरकारको वैकल्पिक शिक्षामा गरिएको लगानी पनि खेर गई समग्र विद्यालय शिक्षामा नै दीर्घकालीन रूपमा नकारात्मक प्रभाव पार्ने विश्लेषणपछि सरकार शैक्षिक सत्र सदुपयोग गर्ने तयारीमा जुटेको खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।

यसका लागि कक्षा १० सम्मकै विद्यार्थीले अध्ययन गर्ने सबै विषयको पाठ्यक्रमको भार घटाएर शैक्षिक सत्र खेर जान नदिने अभियानमा आफूहरू जुटेको जानकारी सरकारी अधिकारीले दिएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले सरकारले पाठ्यभार घटाउने तथा यसैलाई नयाँ शैक्षिक क्यालेन्डरमा समेत मिलाएर अहिलेको शैक्षिक सत्र खेर जान नदिने गरी तयारी सुरु गरेको जानकारी दिए।

कोरोना भाइरसको सङ्क्रमण कहिले अन्त्य हुन्छ भन्ने कुरा यकिनका साथ कसैले पनि भन्न नसकेको अवस्थामा विद्यार्थीको सिकाइ निरन्तर गर्न पनि शैक्षिक सत्रको सदुपयोग गर्नुपर्ने उनको भनाई छ।

विद्यार्थीले अध्ययन गर्ने एउटै कक्षाका कतिपय विषयवस्तु एक अर्को विषयसित मिल्ने भएकाले त्यसलाई मिलाएर अगाडि बढ्न सकिने र केही पाठ्यक्रम सङ्कुचन गर्नुपर्ने अवस्था आउने उनले बताए।

अहिलेको अवस्थामा कहिलेबाट शैक्षिक सत्र प्रारम्भ गर्न सकिन्छ भन्ने कुरा सङ्क्रमणका कारण भन्न नसकिएकाले अन्योल जस्तो देखिएको छ। ढिला गरी शैक्षिक सत्र सुरु गरिएको अवस्थामा अर्को शैक्षिक सत्रको एक÷दुई महिना मिलाउनुपर्ने अवस्था आउने भएकाले चाँडै शैक्षिक सत्र सुरु गर्नुपर्ने प्रवक्ता शर्माको भनाइ छ।

यो समस्याका कारण विश्वका कतिपय मुलुकका विद्यालय शिक्षा ठप्प भएको उदाहरण दिँदै नेपालमा भने शैक्षिक सत्र खेर जान नदिने हिसाबले प्रयास थालिएको छ।

यसै साता मात्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी पाठ्यभार घटाउने र त्यसको तयारी गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .