छापा खबर


लकडाउनमा अनिश्चित गर्भधारण गर्ने धेरै, यस्ताे छ कारण

लकडाउनमा अनिश्चित गर्भधारण गर्ने धेरै, यस्ताे छ कारण

नेपालखबर
साउन ७, २०७७ बुधबार १:३१,

ठूला अस्पतालले सेवा नदिँदा असुरक्षित गर्भपतन तथा अनिच्छित गर्भधारण गर्नेको संख्या बढेको छ। कोरोना संक्रमणका बेलामा सरकारले जारी गरेको निर्देशिका कागजमै सीमित हुँदा यस्तो समस्या निम्तिएको हो।

नेपाल परिवार नियोजन संघका एक्टिङ प्रोग्राम डाइरेक्टर परमिज थापा लकडाउनका समयमा सरकारी निकायले सेवा दिनै नसकेको बताउछन्। सार्वजनिक सवारीसाधन नचल्दा परिवार नियोजनको क्लिनिकसम्म जति पुग्न सके त्यो पनि निकै कठिनाइसँग पुगेको उनको भनाई छ।

३ महिना सेवा असहज हुँदा ठूलो चुनौती थपिएको छ। शुरुका दिनमा सेवा लिन चाहनेलाई सार्वजनिक सवारीसाधन नचल्नु र कोरोना लागेपछि मरिन्छ भन्ने डरले पनि सेवा केन्द्रसम्म पुग्न सकेनन्।

यसले गर्दा महिला स्वास्थ्यमा ठूलो चुनौती थपिएको छ । कतिपय फार्मेसीमा गएर औषधि खाएर जटिल अवस्थामा पुगेर आउने र विशेषज्ञ सेवा लिनुपर्नेहरुको संख्या पछिल्लो समय बढेको खबर आजको समाचारपत्र दैनिकमा भगवती तिमल्सिनाले लेखेकी छन्।

औषधि खाएर जटिल अवस्थामा पुगेकालाई सर्जिकल मेथडबाट कम्प्लिट गर्नुपर्छ । १२ हप्ता नाघेकाको हकमा नेपाल सरकारले तोकेका २४ वटा अस्पतालमा विशेषज्ञहरुले मात्र सेवा दिनुपर्छ ।

सुरक्षित गर्भपतन सेवालाई व्यवस्थित बनाउन र भोलिका दिनमा थप जटिलता आउन नदिनका लागि नेपाल सरकारले तोकेका अस्पतालमा पनि सेवा सुचारु राख्नुपर्छ । कुनै पनि महिलाले सरकारले दिने सेवा नपाएर जटिल अवस्थामा पुग्न नपरोस् र होमबेस सेवा पनि सरकारले शुरु गर्नुपर्छ ।

संघले बन्दाबन्दीको शुरुको अवस्थादेखि हालसम्म झण्डै २ हजार जनालाई सेवा उपलब्ध गराएको छ । नेपाल परिवार नियोजन संघका उपत्यका शाखा प्रमुख शरद अर्यालले बन्दाबन्दीको समयमा सेवाग्राही तोकिएको ठाउँमा पुग्न नसक्दा टेलिमेडिसिनका माध्यमबाट घरमै सेवा दिएको बताए । कतिपयलाई सवारीसाधनको अभावमा सेवा लिन आउन नसक्दा घरमै गाडी पठाएर सेवा दिएको उनले बताए। अरु समयमा भन्दा यो समयमा दैनिक ४० जनाको हाराहारीमा सेवा प्रवाह गरेको उनको भनाई छ।

सुरक्षित गर्भपतन सेवामा ठूलो हिंसा ओगटेको आईपास नेपालका डा.दीप डंगोल पछिल्लो समय सेवा सुरु भए पनि सबै ठाउँमा पुग्न नसकेको, यकिन तथ्यांक भन्न सकिने अवस्था नभएको, हेल्थपोस्ट तहमा गरिने सेवा पनि गोपनीयताका कारण अन्य ठाउँमा जान खोजेको बताउछन्।

ओरेक नेपालमा यस बन्दाबन्दीको समयमा १ सय ९ वटा बलात्कारका घटना अभिलेखीकरण भएका छन् । जसमा ८ वटा सामूहिक बलात्कार र ९ वटा वैवाहिक बलात्कारसम्बन्धी घटनाहरु रहेका छन् । महिला र कानुन मञ्च कार्यकारी निर्देशक सविन श्रेष्ठ बन्दाबन्दीको समयमा सुरक्षित गर्भपतन सेवासम्बन्धी निर्देशिका जारी गरेको बताउछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad