सशस्त्र प्रहरी बलले कम्तीमा दश हजार नयाँ दरबन्दी थप्नुपर्ने अनौपचारिक प्रस्ताव सरकारसँग गरेको छ।
सीमा क्षेत्रमा बोर्डर आउट पोस्ट (बिओपी) पाँच सय ३७ पुर्याउने सरकारको योजनासँगै सशस्त्रले यस्तो प्रस्ताव गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।
अहिले सीमा क्षेत्रमा सशस्त्रका एक सय ३८ बिओपी छन् । आगामी आर्थिक वर्षभित्र थप ८३ स्थानमा बिओपी राख्ने सशस्त्रको तयारी छ । अहिलेकै जनशक्तिबाट ती बिओपी स्थापना गरिनेछन् । तर, बाँकी तीन सय १६ बिओपीका लागि जनशक्ति थप्नुपर्ने सशस्त्रको प्रस्ताव छ ।
भारतसँग जोडिएको नेपालको सिमाना एक हजार आठ सय ८० किलोमिटर छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले साढे दुई किलोमिटरको फरकमा बिओपी राखेको छ । एसएसबीकै हाराहारीमा नसकिए पनि साढे तीन किलोमिटरको फरकमा एउटा बिओपी राख्ने नेपाल सरकारको योजना छ । यसका लागि पाँच सय ३७ बिओपी स्थापना गर्नुपर्ने हुन्छ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार एउटा बिओपीमा ३५ देखि ५० सुरक्षाकर्मी राख्नुपर्छ । ३५ सुरक्षाकर्मी मात्रै खटाउँदा पनि तीन सय १६ बिओपीमा ११ हजार ६० जनशक्ति चाहिन्छ । यही आकलन गरेर सशस्त्रले जनशक्ति थप्नुपर्ने प्रस्ताव गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बिओपी दुई सय २१ बाट बढाउँदा सशस्त्रको जनशक्तिमा पनि पुनर्विचार गर्नुपर्ने बताए । ‘आगामी वर्ष दुई सय २१ स्थानमा बिओपी राखिसक्ने योजना छ । सशस्त्रको अहिलेकै जनशक्तिबाट त्यो हुन्छ । त्यसबाहेक थप बिओपी स्थापना गर्दा जनशक्तिमा पुनर्विचार गर्न आवश्यक छ । यो विषयमा छलफल चलिरहेको छ, तर कुनै औपचारिक निर्णय भइसकेको छैन,’ उनले भने ।
सशस्त्र प्रहरीका अनुसार अहिले रहेका एक सय ३८ बिओपीमध्ये चारवटा उत्तरी सीमा क्षेत्रमा छन् । बाँकी एक सय ३४ पूर्वी, दक्षिण र पश्चिमी सीमा क्षेत्रमा छन् । ३० मंसिरपछि मात्रै ३१ बिओपी थपिएका छन् । थप ८३ बिओपी स्थापनाका लागि आवश्यक जनशक्ति मिलानको प्रयास भइरहेको सशस्त्रले जनाएको छ।

प्रतिक्रिया