छापा खबर


गोकर्णले सम्झियो बहादुर शाह

गोकर्णले सम्झियो बहादुर शाह

नेपालखबर
असार २७, २०७७ शनिबार १:८,

पृथ्वीनारायण शाहको अचानक निधनपछि नेपाल एकीकरणको अभियान एक खालले अलपत्र परेको थियो । पूर्वी अभियान करिब सम्पन्न भए पनि पश्चिमतिर अगाडि बढ्न बाँकी नै थियो ।

एकीकरणको अलपत्र अभियानलाई पूर्णता दिने इतिहासका नेतृत्वदायी पात्र राजकुमार बहादुर शाह (पृथ्वीनारायणका कान्छा छोरा) को मृत्यु भएको २२३ वर्षपछि गोकर्णको दक्षिण ढोकामा स्मरण गर्ने प्रयास थालिएको छ।

गोकर्णको जङ्गल नजिकै दक्षिण ढोकामा ढाल–तरबार बोकेर बहादुर शाह ठिङ्ग उभिइसकेका छन् । यो खबर आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन्।

यस कर्मको सूत्रधार रामेश्वर फुुँयाल हुन् । तत्कालीन संविधान सभा सदस्य र अहिले बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री हुन् फुँयाल । दक्षिण ढोकामै बहादुर शाहको सालिक किन? मन्त्री फुँयाल इतिहासमा अन्यायमा परेका पात्रलाई वर्तमानमा न्याय दिने प्रयास गरेको बताउँछन्।

 सुगौली सन्धिले लगाएको पश्चिम साँध सिमाना समेटर लिम्पियाधुरा सहितको अद्यावधिक नक्सा सरकारले सार्वजनिक गरिसकेको छ । यही बेला नेपाल एकीकरण अभियानका पात्र बहादुर शाहको सालिक निर्माण हुनु एउटा गजब संयोग भएको अनुभव मन्त्री फुँयालको छ।

नेपाल ट्रस्टको नाममा रहेको करिब अढाइ रोपनी जग्गामा निर्माण गरिएको ‘दक्षिण ढोका शान्ति वाटिका’मा बहादुर शाहको सालिक स्थापना गरिएको छ । यो कार्यलाई मन्त्री फुँयाल उब्रिएको जग्गाको उत्कृष्ट उपयोग भन्छन्।

 शान्ति वाटिकामा ब्याडमिन्टन कोर्ट पनि छ । सानो पानीपोखरी पनि छ । पोखरीमा कमल फुलेका छन् । माछा रमाएका छन् । वाटर फाउन्टेन पनि छ । व्यवस्थापन समितिका पूर्व अध्यक्ष बद्री अर्याल बिहान बेलुका थकाइ मार्ने र आनन्द लिने ठाउँ बनेको बताउँछन्। ‘वरपरका ज्येष्ठ नागरिक, बालबालिका र युवाको थकाइ मार्ने थलो हो । यहाँबाट गोकर्णका मृग, घोरल र चित्तल हेरेर आनन्द लिन सकिन्छ,’ उनी भन्छन्।

 दरबारभित्र शक्ति र सत्ताका लागि भाइभारदारबीच वैमनश्य र षड्यन्त्र झाँगिदै थियो । त्यो षड्यन्त्रको सिकार बनेका थिए, बहादुर शाह।

 इतिहासकार बाबुराम आचार्य लिखित ‘अब यस्तो कहिल्यै नहोस्’ पुस्तक अनुसार, राजकुमार बहादुर शाहको गुप्त हत्या १८५४ साल असार १४ गते भीमसेनथानभन्दा केही तल मल्लकालीन गढी किल्लामा गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad