छापा खबर


विरोधीलाई तर्साएरै सत्तामा टिकिरहने प्रधानमन्त्रीको दाउ

विरोधीलाई तर्साएरै सत्तामा टिकिरहने प्रधानमन्त्रीको दाउ

नेपालखबर
असार २४, २०७७ बुधबार ३:३,

प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली सहमतिमा पार्टीको आन्तरिक विवाद समाधान गर्नेभन्दा पनि विभिन्न नेतालाई तर्साएर आफू टिकिरहने रणनीतिमा छन्।

ओली पार्टी र सरकार सञ्चालन प्रक्रियामा सुधारभन्दा पनि फरक मत राख्ने नेतालाई मानसिक त्रास सिर्जना गरेर आफ्नो शक्ति र सत्ता टिकाउन सक्रिय देखिएका खबर आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेका छन्।

पार्टीका नेताहरूलाई दबाबमा पार्न विभिन्न हत्कन्डा अपनाउँदै आएका ओलीले छिमेकी मुलुकदेखि राष्ट्रपति हुँदै विपक्षी दललाई पनि आन्तरिक विवादमा तान्ने काम गरेका छन्।

पार्टीको कुनै तहबाट हुने बहुमत निर्णय अस्वीकार गर्ने संकेत गरेका ओलीले त्यस्तो निर्णयविरुद्ध जस्तोसुकै कदम चाल्न सक्ने धम्की दिँदै आएका छन्। विवाद समाधान गरेर पार्टी एकतालाई मजबुत बनाउन र जनादेशको सम्मान गर्न ओलीले चासो देखाएका छैनन्।

उनले विवादलाई विषयान्तर गरेर पद जोगाउन लिम्पियाधुरासहित समेटेको नयाँ नक्सा जारी गरेकाले आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन लागेको आरोप लगाए।

राष्ट्रवादको नारा दिएर पार्टीभित्रको विवाद मत्थर पार्न छिमेकी मुलुक भारतलाई समेत उनले ताने। कूटनीतिक मर्यादा र शिष्टताविपरीत ओलीले पार्टीको बैठक जारी रहेका बेला त्यहाँ विषय प्रवेश नै नगरी सार्वजनिक कार्यक्रममार्फत भारतले आफूलाई हटाउन लागिपरेको आरोप लगाए।

त्यसले पार्टी विवादलाई विषयान्तर गर्नभन्दा पार्टीका अन्य नेतालाई थप चिढ्याउने काम ग(यो। फागुनदेखि भित्रभित्रै झाँगिएको आन्तरिक विवाद थप मुखरित बन्यो। पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताले एक मुखले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामा माग गरे। त्यसले ओली थप अप्ठेरोमा परे।

पार्टी स्थायी कमिटीका बहुमत सदस्य आफ्नो विपक्षमा देखिएपछि ओलीले संसद्को जारी अधिवेशन अचानक अन्त्य गरिदिए। पार्टीका अर्का अध्यक्ष दाहालसँगको छलफल र समझदारीविपरीत उनले गरेको संघीय संसद्को बजेट अधिवेशन अन्त्यले नेताहरूलाई थप सशंकित बनायो।

आफूलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाउने निर्णय स्थायी कमिटी बैठकले लिएमा अस्वीकार गर्ने बरु राजनीतिक दल विभाजनको अध्यादेश ल्याएर पार्टी फुटाउनसक्ने धम्कीसमेत उनले घुमाउरो भाषामा दिए।

पार्टी एकता जोगाउँदै सबैलाई मिलाएर अघि बढ्ने वा आफ्नो स्वार्थ पूरा गर्न जनादेशको अपमान गरेर मुलुकलाई भड्खालोमा हाल्ने दुई विकल्प ओलीसामु छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad