छापा खबर


सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको तयारी

सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको तयारी

नेपालखबर
असार २४, २०७७ बुधबार ०:४०,

सरकारले सार्वजनिक यातायात सञ्चालनको तयारी थालेको छ।

मंगलबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले सार्वजनिक यातायात सञ्चालनको तयारी गर्न मन्त्रीहरूलाई निर्देशन दिएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

स्वास्थ्य सुरक्षाको प्रोटोकल लागू गरेर सार्वजनिक यातायात सञ्चालन गर्न लागिएको हो । एक मन्त्रीका अनुसार सार्वजनिक यातायात सञ्चालनसम्बन्धी विस्तृत कार्ययोजना बनाउन प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसी)लाई यससम्बन्धी तयारी गर्न जिम्मेवारी दिइएको छ।

भारतलगायत कतिपय देशले मापदण्ड बनाएर सार्वजनिक यातायात चलाएका छन् । सिट क्षमताभन्दा आधा यात्रु राखेरसमेत कतिपय देशमा सार्वजनिक यातायात सञ्चालन गरिएको छ।

नेपालमा पनि लकडाउन अझै केही महिना लम्बिने भएकाले सार्वजनिक यातायात पनि सञ्चालन गर्न लागिएको हो । यातायात व्यवसायी र मजदुरले पनि सार्वजनिक यातायात सञ्चालनका लागि दबाब दिँदै आएका छन्।

ट्याक्सी सञ्चालन गर्न दिने तयारीबारे मन्त्रिपरिषद्मा छलफल भएको छ । एक मन्त्रीका अनुसार स्वास्थ्य मापदण्ड पालना गराएर एक मात्र यात्रु राख्ने गरी ट्याक्सी चलाउन दिने तयारी भइरहेको छ । यससम्बन्धी मापदण्ड बनाउने जिम्मेवारी सिसिएमसीलाई दिइएको छ।

नेपालमा लकडाउन सुरु भएको एक सय ६ दिन भइसकेको छ । कोरोना संक्रमणको जोखिम बढे पनि आर्थिक क्षेत्र अस्तव्यस्त हुँदै गएपछि गत २९ जेठदेखि लकडाउन खुकुलो बनाइएको छ।

निजी र मालबाहक सवारीसाधन जोर/बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिए पनि सार्वजनिक सवारीसाधन सञ्चालन गरिएको छैन । त्यस्तै, आन्तरिक हवाई क्षेत्र पनि ७ साउनपछि खोल्नेबारे छलफल अघि बढाइएको एक मन्त्रीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad