ad ad

छापा खबर


इतिहासकै शक्तिशाली प्रधानमन्त्री पार्टीभित्रै अल्पमतमा: यी हुन् ओलीका पाँच विकल्प

इतिहासकै शक्तिशाली प्रधानमन्त्री पार्टीभित्रै अल्पमतमा: यी हुन् ओलीका पाँच विकल्प

नेपालखबर
असार १७, २०७७ बुधबार २३:५६,

झन्डै दुईतिहाइका साथ इतिहासको सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीको रूपमा पदबहाल गरेका केपी ओली अहिले आफ्नै दलमा पनि अल्पमतमा परेका छन्।

सचिवालयका नौमध्ये ६ र स्थायी कमिटीका ४४ मध्ये ३० सदस्य विपक्षमा भएकाले पार्टीले ओलीलाई राजीनामाका लागि निर्देशन दिने निश्चितप्रायः भएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

तर, पार्टी निर्देशन शिरोपर गरेर ओलीले राजीनामा देलान्? वा उनले विकल्पको खोजी गर्लान्? अहिलेको सबैभन्दा पेचिलो राजनीतिक प्रश्न यही हो।

१. पार्टी निर्देशन पालना : पार्टी र सरकार सञ्चालनको कार्यशैलीका आधारमा ओली राजनीतिक रूपमा पहिले नै कमजोर थिए, अब अंकगणितमा पनि कमजोर देखिएका छन् । पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा ओली प्रस्ट अल्पमतमा छन् । त्यस्तै, संसदीय दलमा पनि उनको बहुमत प्रस्ट पुगेको छैन । त्यसैले उनले पार्टी निर्णय मान्नुपर्ने अवस्था सिर्जना भएको छ।

२. मध्यावधि निर्वाचन : पार्टी निर्देशनलाई सरकार र प्रधानमन्त्रीमाथिको हस्तक्षेप भनेर ओलीले अस्वीकार गर्न सक्छन् । उनको अहिलेसम्मको सम्पूर्ण प्रयत्न त्यसैमा केन्द्रित छ । ओलीले मध्यावधि निर्वाचन गर्ने सम्भावना छ भनेर पनि राजनीतिक वृत्तमा चर्चा छ । तर, एउटा मात्र अवस्थामा संसद् विघटन हुने र नयाँ निर्वाचन हुने व्यवस्था संविधानले गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनबाट बहुमत प्राप्त दलले सरकार बनाउनेछ, कुनै पनि दलको बहुमत नभएमा गठबन्धनको सरकार बनाउने र त्यो पनि सम्भव नभएमा ठूलो दलको नेतृत्वमा अल्पमतको सरकार बन्न सक्ने परिकल्पना संविधानले गरेको छ।

३. संकटकाल घोषणा : देशमा संकटकाल लगाउन सक्ने अधिकार सरकारलाई छ । संविधानको धारा २७३ को उपधारा १ मा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह, चरम आर्थिक विशृंखलता, प्राकृतिक विपत् वा महामारीको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रपतिले नेपालभर वा नेपालको कुनै खास क्षेत्रमा लागू हुने गरी संकटकालीन अवस्थाको घोषणा गर्न वा आदेश जारी गर्न सक्नेछ।’

अहिले कोरोना महामारी भएकाले सरकारले संकटकाल घोषणा गर्न सक्छ । तर, संकटकाल घोषणा गरे पनि एक महिनाभित्र संसद्मा पेस गर्नुपर्नेछ र संसद्का दुवै सदनबाट दुईतिहाइ बहुमतले पारित गर्नुपर्नेछ। त्यसपछि मात्रै तीन महिनासम्म संकटकाल लागू हुनेछ । तर, एक महिनाभित्र संसद्को दुईतिहाइ बहुमतबाट पारित गर्न प्रधानमन्त्रीलाई सहज छैन।

४. पार्टी विभाजन गर्ने अध्यादेश : नेकपाको निर्देशन अवज्ञा गर्न उनले आफ्नो अलग दल बनाउन सक्छन् । मदन भण्डारी जन्मजयन्तीका दिन १४ असारमा निर्वाचन आयोगमा दर्ता भएको नेकपा ९एमाले० ओलीको अन्तिम अस्त्र हो भन्ने पार्टी नेताहरूको विश्लेषण छ। तर, पार्टी विभाजन गरेर सांसदहरूको पद जोगाइराख्न नयाँ दलले मान्यता पाउनुपर्छ । त्यसका लागि पार्टी केन्द्रीय कमिटी र संसदीय दल दुवैतिर ४० प्रतिशत सदस्य पुग्नुपर्छ ।

तर, प्रधानमन्त्री ओलीसँग संसद्मा ४० प्रतिशत सांसद रहे पनि केन्द्रीय कमिटीमा त्यो संख्या पुग्दैन ।

५. गठबन्धनको सरकार : नेकपाले विवाद व्यवस्थापन गर्न सकेन र विभाजनमा गयो भने नेपाली राजनीति फेरि एउटा भद्दा दृश्यतर्फ मुखरित हुनेछ । यसका लागि संसदीय दल, संसद्, निर्वाचन आयोग र सर्वोच्च अदालतसम्म सांसद र केन्द्रीय सदस्यले परेड खेल्ने दिन आउन पनि सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .