छापा खबर


कोरोनाले भन्दा बढी सरकारी उपेक्षाले लिँदै छ नागरिकको ज्यान

कोरोनाले भन्दा बढी सरकारी उपेक्षाले लिँदै छ नागरिकको ज्यान

नेपालखबर
असार ११, २०७७ बिहिबार २३:५२,

कोरोनाले भन्दा पनि सरकारको उपेक्षाले धेरैको ज्यान जान थालेको छ। झाडापखाला लागेका धनुषाका राजु सदाको मृत्यु भएको अर्को दिन बैतडीका मिर्गौला बिरामीको मृत्यु भएको छ।

उनलाई कोरोना थिएन, तर कोरोनाको रिपोर्ट नभएकोले तीन दिनसम्म डायलाइसिस नभएकोले मृत्यु भएको खबर आजको नयाँ पत्रिका दैनिकमा धनगढीबाट तेजराज भट्टले लेखेका छन्।

हातखुट्टा सुन्निने, खान मन नलाग्ने र बान्ता आउने समस्या भएपछि बैतडीको मेलौलीका ४७ वर्षीय रामी धानुकलाई ७ असारमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियोे ।

रगत परीक्षणपछि चिकित्सकले मिर्गौलामा जटिल समस्या देखिएकाले तत्काल डायलाइसिस गर्न सल्लाह दिए । तर, अस्पतालमै रहेको बिरङ हेल्थ केयरले सञ्चालन गरिरहेको डायलाइसिस सेन्टरले कोरोना परीक्षणको पिसिआर रिपोर्ट नल्याएसम्म डायलाइसिस गर्न मानेन । धानुकका कुरुवा रहेका भतिजा धनवीरले नमुना संकलन गरिदिन पटकपटक आग्रह गरे । तर, उनको सुनुवाइ भएन।

डायलाइसिस गर्नुपर्ने गम्भीर बिरामी बेडमा छटपटाइरहे । भर्ना भएको तेस्रो दिन मात्रै अर्थात् ९ असारमा अस्पतालले धानुकको स्वाब संकलन गर्‍यो । कोरोना परीक्षणको रिपोर्ट नभएका कारण उनले त्यतिन्जेल डाइलाइसिस सेवा पाएनन्, अन्ततः स्वाब संकलन गरिएकै राति रिपोर्ट कुर्दाकुर्दै धानुकको मृत्यु भयो ।

जब कि १० असारमा पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आयो । यसरी कोरोना संक्रमित नभएका बिरामीलाई कोरोनाको बहानामा मृत्युवरण गर्न बाध्य बनाइयो ।

विपन्नको पीडामाथि भएको सरकारी झमेलाले अनाहकमा ज्यान गएको पीडित परिवारको गुनासो छ । ‘समयमै डायलाइसिस गराउन पाएको भए ज्यान बच्थ्यो,’ मृतकका भतिजा धनवीर धानुकले भने, ‘पिसिआर रिपोर्ट नभएसम्म डायलाइसिस नगर्ने भनियो, पिसिआर रिपोर्ट कुर्दा ज्यान गयो ।’

डायलाइसिस सेन्टरका व्यवस्थापक दीपक भट्टले अन्य बिरामी जोखिममा नपरुन् भनेर कोरोना परीक्षण गर्न भनिएको बताए । ‘बिरामीका आफन्त डायलाइसिसका लागि आउनुभएको थियो, तर बिरामी भारतबाट फर्केकाहरूसँगको सम्पर्कमा रहेको बुझिएकाले कोरोना परीक्षणको रिपोर्ट ल्याउन भनेका हौँ, जाँच गर्न भनेका हौँ,’ उनले भने ।

तर, सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले भने डायलाइसिस सेन्टरले आरडिटी जाँच गरेर उपचार गर्न नमानेको बताए ।

त्यस्तै, परिवारका सदस्यले पनि मृतकको कुनै ट्राभल हिस्ट्री नभएको र भारतबाट फर्केकाहरूसँग पनि सम्पर्क नरहेको बताएका छन् । मृत्युपछि बिरामीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको श्रेष्ठले बताए । स्वास्थ्य विभागसँगको सम्झौताअनुसार बिरङ हेल्थ केयरले सेती अस्पतालमा डाइलाइसिस सेन्टर सञ्चालन गर्दै आएको छ ।

कोरोना संक्रमणबाट सुदूरपश्चिममा ज्यान गुमाएकामध्ये यसअघि पनि चारजनाको मृत्युपछि कोरोना पुष्टि भएको थियो । सुदूरपश्चिममा संक्रमण पुष्टि भएकामध्ये एक सयजनाभन्दा बढीको रिपोर्ट क्वारेन्टाइनबाट घर फर्केपछि मात्र आएको छ ।

पहिलो मृत्यु नै समयमा उपचार नपाएर भयो

नेपालमा कोरोना संक्रमणबाट पहिलो मृत्यु सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको भएको थियो । उनले समयमा उपचार पाइनन्, मृत्युपछि मात्रै उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो।

बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकले पनि गत ४ जेठमा उपचार नपाएर तड्पी–तड्पी ज्यान गुमाए । यो नेपालमा कोरोना संक्रमणबाट दोस्रो मृत्यु थियो ।

गुल्मीको मदाने गाउँपालिका ४१ वर्षीय शिक्षकको उपचारमा पनि अस्पतालहरूले चरम लापरबाही देखाए । कोरोनाको लक्षण देखिँदासमेत परीक्षण गर्नुको साटो उनको शरीरमा अनेक प्रयोग मात्रै गरियो । अन्ततः ८ जेठमा रुपन्देहीको मणिग्रामस्थित क्रिमसन हस्पिटल उनले देह त्याग गरे ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .