राजनीति


डायसमा तीन नेताका प्रस्तुति देखेपछि स्थायी कमिटी सदस्यको प्रतिक्रिया : अनौठो र अप्रत्याशित लाग्यो

डायसमा तीन नेताका प्रस्तुति देखेपछि स्थायी कमिटी सदस्यको प्रतिक्रिया : अनौठो र अप्रत्याशित लाग्यो

मणि दाहाल
असार ११, २०७७ बिहिबार १७:५१,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबीच कतिसम्म तिक्तता बढेको छ भन्ने उदाहरण बुधबारको स्थायी कमिटी बैठकमा देखिएको छ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बैठकमा पार्टी र र सरकार सञ्चालन लगायतका विषयमा ठीक विपरित धारणा राखे।

दुईजना पार्टी अध्यक्षले नै अरु सदस्यहरुका अगाडी एक अर्काको आलोचना मात्र गरेनन्, उनीहरु आपसमा आरोप प्रत्यारोपमै उत्रे।

उद्घाटन बैठकमै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलिरहँदा अर्का नेता माधवकुमार नेपालले बीचबीचमा हस्तक्षेप गरेर ओलीले राखेका कुराप्रति प्रतिवाद नै गरे।

प्रधानमन्त्री ओलीले नेपाललाई आफ्नो पालोमा आफ्ना धारणा राख्न आग्रह नै गर्नुपरेको थियो।

लामो समय पार्टीको नेतृत्व गरेका र अनुशासन तथा पद्धतिको कुरामा जोड दिँदै आएका नेता नेपालको त्यो शैली देखेर स्थायी कमिटी सदस्यहरुले अनौठो मानिरहेका थिए।

बुधबारको स्थायी कमिटीको परिदृष्य देखेपछि धेरै स्थायी कमिटी सदस्यहरुको निष्कर्ष रह्यो, पार्टी गम्भीर संकटतर्फ उन्मुख भइसकेको रहेछ।

‘नेताहरु बीच विवाद छ भन्ने त थाह नै थियो तर दुई अध्यक्षका विपरित धारणा र अर्का नेताले डायसबाटै देखाएको व्यवहार, नेताहरुको प्रस्तुती र हाउभाउ हेर्दा त परिस्थिति सोँचेभन्दा धेरै गम्भीर रहेछ भन्ने प्रष्टै देखियो,’ एक स्थायी कमिटी सदस्यले भने, ‘अनौठो र अप्रत्याशित लाग्यो।’

केहि नेताहरुले भने अझै पनि बुधबारको बैठकमा व्यक्त गरेको धारणाका आधारमा मात्रै निष्कर्ष निकाल्न नहुने बताए। त्यत्तिकै आधारमा आगामी दिन पार्टी कसरी चल्छ भनेर निष्कर्षमै पुगिहाल्न नहुने ती नेताको भनाई थियो।

बुधबारको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी गम्भीर अवस्थामा पुगेकाो र सुधारका लागि सबैले ठूलो सेक्रिफाइस (त्याग) गर्नुपर्ने बताएका थिए।

प्रचण्डले प्रयोग गरेको ‘सेक्रिफाइस’ शब्दलाई धेरै स्थायी कमिटी सदस्यले प्रधानमन्त्री ओलीप्रति नै लक्षित भएको बुझे।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद सम्हालेका र आफूनिकटका खासखास नेताहरुलाई पनि दोहोरो पद दिएकोमा ओलीप्रति प्रचण्ड र नेपाल लगायतका नेताले गम्भीर आपत्ति जनाउँदै आएका छन्।

तर स्थायी कमिटी सदस्य केशव बडालले तत्काल कसैलाई हटाउने र निषेध गरेर जाने अवस्था नभएको र त्यस्तो प्रयास गरे त्यसले झनै ठूलो दुर्घटना निम्त्याउने बताए।

‘अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीप्रति नै लक्षित गरेर त्यो कुरा भन्नुभएको थियो। पार्टी एकता हुँदा दुवै अध्यक्षबीच सहमतिमा पार्टी सञ्चालन गर्ने सहमति भएको हो। अहिले कसैलाई निषेध गरेर जाने अवस्था सिर्जना गर्न खोजिए त्यसले दुर्घटना मात्रै निम्त्याउँछ,’ बडालले नेपालखबरसँग भने, ‘तर प्रधानमन्त्रीले पनि पार्टीको सबै पक्ष र भावनालाई समेटेर लैजानु पर्छ। तर पार्टी र सरकारको नेतृत्व परिवर्तन भने महाधिवेशन र अर्को आमनिर्वाचनले मात्रै गर्नसक्छ।’

ओलीनिकट रहेका बडाल सल्लाहकार परिषदका अध्यक्ष हुन्। परिषदका अध्यक्ष स्थायी कमिटीको पदेन सदस्य हुने व्यवस्था छ।

बडालले पार्टीमा देखिएको समस्या र अविश्वास मेटाउन गम्भीर हुनुपर्ने बेला आएको कुरा बैठकले प्रष्टै देखाएको बताए।

मुख्यतः तीन खेमामा विभाजित सत्तारुढ नेकपाभित्र दुई नेता अध्यक्ष प्रचण्ड र नेता नेपाल एकै स्थानमा हुँदा सचिवालयदेखि तल्लो कमिटीसम्म अध्यक्ष ओली अल्पमतमा छन्।

उनीहरुले यसपटकको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीदेखि तलैसम्मका पार्टी कमिटीहरुमा एक व्यक्ति एक पदको विषयलाई नै मुख्यरुपमा उठाउने रणनीति बनाएको एक नेताले बताए।

स्थायी कमिटी सदस्य बेदुराम भुुसालले भने पार्टीमा न्यायोचितरुपमा जिम्मेवारी बाँडफाँट र सबै तहका सरकारलाई सम्बन्धित तहका पार्टी कमिटी मातहत सञ्चालन गर्ने विषयमै आफ्नो पक्षको मुख्य जोड रहने बताए। त्यो नै यो बैठकको बटम लाइन भएको उनले बताए।

‘पार्टी विधानअनुसार चल्नुपर्छ। र, त्यो भनेको एक व्यक्ति एक जिम्मेवारीको नीति कार्यान्वयन गर्ने नै हो। त्यसले प्रधानमन्त्रीको मात्रै नभएर सबै कमिटीमा रहेका नेताहरुको दोहोरो जिम्मेवारी अन्त्य गर्ने हो,’ भुसालले नेपालखबरसँग भने।

नेपाल निकट रहेका भुसालले यसका लागि नयाँ कार्यविभाजन गर्नुपर्ने बताए।

भुसालले तीनै तहका सरकारहरु तत्तत् कमिटीअन्तर्गत सञ्चालन हुनुपर्ने बताए।

‘तीनै तहका सरकार सम्बन्धित कमिटी अन्तर्गत रहेर सञ्चालन हुनुपर्छ, त्यसो भयो भने सरकारले गरेको कामको पार्टीले जिम्मेवारी लिन्छ,’ भुसालले भने, ‘अहिले सरकारको प्रतिरक्षा गर्ने अवस्थामा अन्य सदस्यहरु पनि रहनु भएको छैन।’

बैठकमा प्रधानमन्त्री ओलीले आफूले राम्रो काम गर्दागर्दै त्यसको पार्टीभित्रैबाट प्रचार र सहयोग नभएको भनी असन्तुष्टि पोखेका थिए।

बैठकमा दाहालले सरकारले सक्नेजति पनि काम नगरेको र प्रधानमन्त्री एक्लै हिड्न खोजेको आरोप लगाएका थिए।

अर्को बैठक शुक्रबारका लागि तोकिएको छ भने त्यसअघि दुई अध्यक्षले गृहकार्य गर्न आवश्यक भएको भनी त्यसका लागि एक दिन खाली राखिएको थियो।

आगामी दिनका बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा बिहीबार दुवै अध्यक्षबीच छलफल भएको थियो। बैठकमा सात एजेण्डामाथि छलफल हुने गरी तय गरिएको छ। जसमा सरकार तथा पार्टीको कामको समिक्षा, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहित सात विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .