छापा खबर


बाढीपहिरो : १२ दिनमै गयो १७ जनाको ज्यान

बाढीपहिरो : १२ दिनमै गयो १७ जनाको ज्यान

नेपालखबर
असार ११, २०७७ बिहिबार ०:३३,

मनसुन सक्रिय भएसँगै मुलुकभर बाढीपहिरोको जोखिम अत्यधिक बढ्दै गएको विज्ञहरूले औंल्याएका छन्।

विगत १० वर्षयताकै राम्रो मनसुन सुरुवात भएकाले स्थानीय तहहरूले विनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका ग्रामीण सडकले विपद् निम्त्याउने भूगर्भविद्हरू बताउँछन्।

यस वर्षको मनसुन गत १२ जुनमा मुलुकमा भित्रिएपछि एक सातामै मलुकभर सक्रिय बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस वर्षको मनसुन विगतको तुलनामा बढी सक्रिय भएकाले यो वर्षको मनसुनलाई राम्रो मनसुनका रूपमा लिन सकिने मौसमविद्ले बताएका छन्।

यस वर्ष सातै प्रदेशमा मनसुनी वायु सक्रिय हुँदा केही बाढीपहिरोका घटना भएको पाइएको छ। यो खबर आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन्।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुको सुरुवातमा प्राकृतिकसँगै गैरप्राकृतिक विपद्का घटना बढेको जनाएको छ।

मनसुन सुरु भएको १२ दिनमा १७ जनाले पहिरोका कारण ज्यान गुमाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार १२ दिनमा ४० स्थानमा पहिरो गएको छ । ४० पहिरोका कारण ४१ परिवार प्रभावित भएका छन् । गएका १२ दिनको अवधिमा १० पुरुष र ७ महिलाले पहिरोमा परी ज्यान गुमाउनुपरेको प्राधिकरणले जनाएको छ।

३१ जेठबाट सुरु भएको मनसुनसँगै विपद्का घटना हुन थालेका छन् । प्रदेश ४, गण्डकी प्रदेश र बाग्मती प्रदेशमा बाढीपहिरोका घटना भएको विपद् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पाल्पामा ४ र लमजुङमा एक पहिरोको घटना भएका छन् भने चार जनाले ज्यान गुमाउनुपरेको छ।

वर्षभरि पर्ने पानीमध्ये ७५ प्रतिशत पानी मनसुनको अवधिमा अर्थात् जुनदेखि सेप्टेम्बरमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यही अवधिमा नेपालमा बाढी र पहिरोजस्ता प्राकृतिक विपद्का कारण बर्सेनि ठूलो जनधनको नोक्सानी हुने गरेको छ।

विपद्को पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी हुन नसक्दा जनधनको ठूलो नोक्सानी हुने गरेको विपद् विज्ञहरू बताउँछन् । नेपालमा प्रतिवर्ष विभिन्न विपद्बाट सरदर औसतमा एक हजार जनाको ज्यान जाने गरेको छ। जसमध्ये वार्षिक तीन सय जनाको मृत्यु बाढीपहिरोका कारण मात्रै हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad