छापा खबर


‘मान्छे खाने’ क्वारेन्टाइन

‘मान्छे खाने’ क्वारेन्टाइन

नेपालखबर
जेठ ३१, २०७७ शनिबार १:५९,

कोरोनाबाट जोगिन उनी गाउँ पुगे। बाहिरबाट गएका कारण उनलाई क्वारेन्टाइनमा राखियो। आफूमा संक्रमण भए पनि क्वारेन्टाइनमा उपचार पाउने उनको आस थियो।

तर, उनले न उपचार पाए न त राम्रो खानपान नै। भद्रगोल व्यवस्थापनका कारण जुम्लाको चन्दननाथका रामसिंह सुनारको क्वारेन्टाइनमै ज्यान गयो।

नगरपालिकाले वडा नम्बर ८ तलिउमस्थित एक स्कुलमा क्वारेन्टाइन बनाएको छ। आफन्तलाई संक्रमण हुने त्रास र आफ्नो ज्यान जोगाउन रामसिंह त्यहाँ बस्न सहमत भएका थिए। तर, जेठ २३ गते क्वारेन्टाइनमै उनको ज्यान गयो। बर्दियाबाट फर्किंदै गरेका उनी घर पुग्नै पाएनन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुर्खेतबाट ललितबहादुर बुढाले लखेका छन्।

कर्णालीमा क्वारेन्टाइनको व्यवस्थापन नहुँदा त्यहाँ बसेका व्यक्तिको ज्यानै जान थालेको छ। रोगबाट जोगाउन र सुरक्षित राख्न बनाइएका अधिकांश क्वारेन्टाइनले नै ‘मान्छे खान’ अर्थात् ज्यान लिन थालेका हुन्।

भारतबाट फर्किएका दैलेख दुल्लुका कर्णबहादुर थापा पनि घर पुग्न पाएनन्। नगरपालिकाले बनाएको क्वारेन्टाइनमै जेठ १७ गते उनको मृत्यु भयो। क्वारेन्टाइनमै थुनेर राखिएको र उपचार तथा खानपानमा बेवास्ता गरिएपछि अकालमै उनको ज्यान गएको आफन्तको भनाइ छ।

मजदुरीका लागि भारत गएका नेपाली धमाधम स्वदेश फर्किएका छन्। उनीहरूको चाप थेग्न नसक्दा क्वारेन्टाइन व्यवस्थापन गर्न नसकिएको चन्दननाथ–८ का वडाध्यक्ष रन्जित परियारले बताए। बाहिरबाट भित्रिने नागरिक धेरै भएपछि अधिकांश स्थानीय तहले त्रिपाल, स्कुल, खाली रहेका भवन र ओडारलाई क्वारेन्टाइन बनाएका छन्।

व्यवस्थापन, खानपान, स्वास्थ्य परीक्षण र उपचारमा लापरवाही हुँदा क्वारेन्टाइन असुरक्षित देखिएका छन्। जाजरकोटमा त बाहिरबाट आउने स्थानीयलाई ओडारमा राखिएको छ। यसले त्यहाँ बस्नेहरू थप असुरक्षित बनेका छन्।

क्वारेन्टाइनमा आवश्यक रेखदेख र स्वास्थ्य परीक्षणमा लापरवाही हुँदा सुर्खेतमा पनि एक युवाले ज्यान गुमाए। पञ्चपुरी नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका उनको क्वारेन्टाइनबाट घर पठाएकै दिन मृत्यु भयो।

मृतकका आफन्त भन्छन्, ‘रोगबाट बचाउन बनाएको भन्छन्, बजेट पनि खर्च गरेका छन्। तर, त्यस्ता मान्छे खाने क्वारेन्टाइन बनाउनेलाई कसले कारबाही गर्ने रु क्वारेन्टाइन भन्ने मात्र हुन्, मान्छेका काल बनेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad