७ चैत ०६९ मा इलाम गजुरमुखीका प्रकाश पुलामीको घरमा डाँका लाग्यो । एकजना मारिए, अरू पक्राउ परे । पक्राउ परेकाले सजाय पाए ।
डकैतीको योजनाकार रहेको भनिएका विक्रम भनिने गणेश लिम्बू फरार रहे ।
१३ माघ ०७१ मा जिल्ला प्रशासन कार्यालय इलामले हातहतियार खरखजना मुद्दाका फरार अभियुक्त विक्रम भनिने गणेश लिम्बूविरुद्ध ८० हजार रुपैयाँ जरिवाना तोक्यो ।
१९ भदौ ०७५ मा प्रहरीले गणेश हाङनाम लिम्बूलाई तिनै फरार अभियुक्त भन्दै पक्राउ गर्यो। २१ भदौ ०७५ मा उनलाई जिल्ला प्रशासन कार्यालय इलाममा जबर्जस्ती ८० हजार जरिवाना तिराइयो ।
१ पुस ०७५ मा जिल्ला अदालत इलामले विक्रम भनिने गणेश लिम्बू र उनी एकै व्यक्ति नभएको भन्दै सफाइ दियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।
जरिवाना तिरेकै आधारमा जिल्ला अदालत इलामले ३१ वैशाख ०७६ मा उनलाई ६ वर्ष कैद र ६७ हजार ८ सय ६० रुपैयाँ जरिवाना हुने फैसला गर्यो ।
ताप्लेजुङ मेरिङदेन–४ का ३७ वर्षीय गणेश हाङगाम लिम्बूले फरार अभियुक्तसँग नाम मिलेकै भरमा ६ वर्ष कैद भुक्तान गर्नुपर्ने भएको छ । प्रहरी र प्रशासनले नै आफूलाई फसाएको भन्दै उनी न्याय माग्न भौँतारिइरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय इलामले हातहतियार खरखजना मुद्दाका फरार अभियुक्त विक्रम भनिने गणेश लिम्बूविरुद्ध तोकेको ८० हजार रुपैयाँ जरिवाना लिम्बूले जेल पर्ने भयका कारण २१ भदौ ०७५ मा तिरेका थिए ।
त्यसैलाई आधार मान्दै अदालतले लिम्बूविरुद्ध ३१ वैशाख ०७६ मा ६ वर्ष कैद र ६७ हजार ८ सय ६० रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।
अदालतको फैसलापछि हारगुहार गर्दै गृह मन्त्रालय पुगेका लिम्बूलाई अब न्याय माग्न जाने ठाउँ थाहा छैन ।
‘जिप्रका इलामले भनेको विक्रम भनिने गणेश लिम्बू र म एउटै व्यक्ति होइन । मेरो नाम गणेश हाङगाम लिम्बू हो,’ उनले भने, ‘तर, प्रहरीले विक्रम भनिने गणेश लिम्बू मै भएको भन्दै समात्यो । जिप्रका इलामले फरार रहेका विक्रम भनिने गणेश लिम्बूकै नाममा ८० हजार रुपैयाँ जरिवाना तिर्न लगायो । त्यसैलाई आधार मानेर उच्च अदालत इलामले मविरुद्ध ६ वर्ष कैद र ६७ हजार ८ सय ६० रुपैयाँ जरिवाना हुने फैसला गर्यो । अब न्याय माग्न म कहाँ जाऊँ?’
Shares

प्रतिक्रिया