छापा खबर


बलात्कार मुद्दामा सर्वोच्च अदालतले गर्‍याे नयाँ व्याख्या

बलात्कार मुद्दामा सर्वोच्च अदालतले गर्‍याे नयाँ व्याख्या

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार ०:५८,

सर्वोच्च अदालतले पूजा बोहराको बलात्कार मुद्दाको पूर्ण फैसलामा व्याख्या गर्दै जबर्जस्ती करणी महिलाको शरीर मात्रै नभई व्यक्तित्वमाथि हुने अपराध भनी व्याख्या गरेको छ।

सर्वोच्चले व्यक्तिको शरीर र आत्मसम्मानमाथि आघात पुग्ने जघन्य अपराध भएको उल्लेख गरेको खबर आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन्।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको इजलासले गरेको बलात्कार मुद्दाको फैसलाको पूर्ण पाठमा भनिएको छ, ‘जर्बजस्ती करणी केवल महिलाको शरीरउपर मात्रै नभई व्यक्तित्वमाथि हुने अपराध हो । सो मुद्दामा पीडितले एसएलसी परीक्षासमेत दिन नपाई शैक्षिक उपलब्धि हासिल गर्न ढिला भएको देखिन्छ । पीडितमाथि परेको पीडा मात्रै नभई हिंसाको त्रासको कारणले पीडितको मानसिक अवस्थामा परेका आघातको असरलाई समेत विचार गरी क्षतिपूर्ति निर्धारण गर्नु उपयुक्त देखिन्छ।’

सर्वोच्चले पूजा बोहराको बलात्कार मुद्दामा फैसला गर्दै भनेको छ, ‘सोच्दै नसोचेको अनपेक्षित तरिकाबाट एउटा महिलाको शरीर तथा आत्मसम्मानमाथि आक्रमण हुँदा मानसिक विक्षिप्तताको अवस्थामा पुग्न सक्दछ। यस्तो अवस्थामा आफूमाथि भएको यौनिक हिंसाको घटना स्मरण गर्न र व्यक्त गर्न तत्काल कठिन हुन सक्ने वा विस्तारै याद हुने अवस्थाहरू हुन सक्दछ । यस्तो अवस्था भनेकै रेप ट्रमा सिन्ड्रमको अवस्था हो । यस्तो अवस्थालाई न्यायकर्ताले गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ।’

जबर्जस्ती करणी जस्तो गम्भीर अपराधमा अन्य अपराध जस्तो अंक गणितीय हिसाबमा हेर्नुभन्दा पनि नारीको अस्मितामा गम्भीर आँच आउने विषय भएकाले अदालतले संवेदनशील रुपमा विचार गर्नुपर्दछ भन्ने बमबहादुर कठायतविरुद्ध परेको मुद्दाको नजिर रहेको छ।

‘जबर्जस्ती करणी अपराधको प्रकृति अन्य अपराधभन्दा फरक हुन्छ । अन्य अपराधमा सत्यताको मूल्यांकनका लागि भनाइको स्थिरताको विद्यमानता हुनुपर्दछ भने जबर्जस्ती करणीमा पीडितका भनाइको पीडाको आघातको कारणले केही विरोधाभास आउन सक्दछ,’ सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठमा भनिएको छ।

सर्वोच्चले पूजा बलात्कार मुद्दाको अनुसन्धानकै चरणमा पीडितलाई पुगेको मानसिक र शारीरिक क्षतिको मूल्यांकन गर्न, अनुसन्धानको चरणमै पीडकको सम्पत्ति संकलन गर्न, मिसिलमा संलग्न गराउन र तत्काल पीडितहरूलाई राहत दिन राहत कोष स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad