छापा खबर


नेपालमा आउँदै सलह, कसरी तहसनहस पार्छ यसले सम्पूर्ण कृषि प्रणाली?

नेपालमा आउँदै सलह, कसरी तहसनहस पार्छ यसले सम्पूर्ण कृषि प्रणाली?

नेपालखबर
जेठ १५, २०७७ बिहिबार १:१३,

कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका नेपाली किसानसामु अब अर्को भयावह चुनौती थपिने भएको छ। सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो।

यो फट्यांग्राले नेपालको समग्र कृषि खेती प्रणालीलाई नै असर पुर्‍याउन सक्ने कृषिविद्ले चिन्ता व्यक्त गरेका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लेखेका छन्।

सलह फट्यांग्रा (लकस्ट) को वैज्ञानिक नाम स्चिस्टोसिरका ग्रेगारिया हो। यसको एक बथान (झुन्ड) अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको छ। अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको छ। भारतको दिल्ली, उत्तर प्रदेश, झासीलगायत स्थानमा यसको बथान प्रवेश गरिसकेको छ। भारतसँग जोडिएको सबैभन्दा नजिकको मुलुक नेपाल हो।

नेपालमा पश्चिमी दिशाबाट यो फट्यांग्रा भित्रिन लागेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। यसले बढी सुदूरपश्चिमका जिल्लासँगै कर्णाली, प्रदेश ५ र पूर्वी जिल्लालाई प्रभाव पार्न सक्ने बताइएको छ।

भारतीय सीमासँग तराईका जिल्ला सबैभन्दा नजिक भएकाले असारदेखि लगाइने धानबालीलाई यसले ठूलो नोक्सानी पार्न सक्ने विज्ञहरूको भनाइ छ। यो फट्यांग्राले मुख्य गरी खाद्यान्न बालीलाई नराम्रो तवरबाट नष्ट गर्ने संयुक्त राष्ट्रसंघको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) ले चेतावनी दिएको छ।

एफएओका अनुसार एक वर्गकिमिमा फैलिएर बस्ने एउटा बथानमा चारदेखि आठ करोड फट्यांग्रा हुन्छन्। एक दिनमा फट्यांग्रा १ सय ३० किमिसम्म बथान बनाएर हिँड्न सक्छन्।

फट्यांग्राको एउटा बथानले एक दिनमा ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञले बताएका छन्। यो एक दिनमा ५ सय किमिसम्म बथानमै उडान भर्छ र आफ्नो गन्तव्यमा पुगेर जमिनमा ओर्लिन्छ। दक्षिण एसियामा यो फट्यांग्राका लागि यतिबेला अनुकूल मौसम भएको विज्ञहरू बताउँछन्।

छिमेकी मुलुक भारत र पाकिस्तान यो फट्यांग्राबाट आफ्ना खाद्यान्न बाली जोगाउन युद्धस्तरमा रोकथामका उपायको खोजीमा लागिसकेका छन्। नेपालमा पनि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सम्भावित खतरालाई ध्यानमा राख्दै पूर्व तयारीमा जुटिसकेको छ।

मन्त्रालयले यसको रोकथाम र समस्या समाधानका लागि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ।

यो फट्यांग्राले सम्पूर्ण कृषि बालीको बोटबिरुवा, बाली, फूल, डाँठ, डाँठको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको कार्यदलका संयोजक हुमागाईंले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad