ad ad

छापा खबर


कोरोनाबाट २९ वर्षीया सुत्केरीको मृत्यु : आफन्तले शवलाई छुन नपाउने

कोरोनाबाट २९ वर्षीया सुत्केरीको मृत्यु : आफन्तले शवलाई छुन नपाउने

नेपालखबर
जेठ ३, २०७७ शनिबार २३:४८,

नेपालमा कोरोना भाइरसबाट पहिलो मृत्यु भएको छ। सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको बिहीबार काभ्रेस्थित धुलिखेल अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

कोरोनाकै कारण मृत्यु भएको हो वा अन्य समस्या पनि थियो भनेर अध्ययन गरिसकेपछि स्वास्थ्य मन्त्रालयले शनिबार त्यसको पुष्टि गरेको छ।

नेपालमा संक्रमण भित्रिएको झन्डै चार महिनापछि कोरोना भाइरसबाट पहिलो मृत्यु भएको खबर आजको नयाँ पत्रिका दैनिकमा सिन्धुपाल्चोकबाट रामकृष्ण थापा र काभ्रेबाट इन्द्रबहादुर थापाले लेखेका छन्।

 मृतक महिलाले २४ वैशाखमा काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा नर्मल डेलिभरीमार्फत बच्चा जन्माएकी थिइन् । त्यसको एक दिनअघि उनी अस्पताल भर्ना भएकी थिइन् । २५ वैशाखमा डिस्चार्ज भए पनि दुई दिन काठमाडौंकै डेरामा बसेर उनी २८ वैशाखमा बाह्रबिसेस्थित घर फर्केकी थिइन् ।

तर, ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिन थालेपछि उनले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराएको मन्त्रालयले जनाएको छ।

कोरोनाको लक्षण देखिएको र समस्या बढ्दै गएपछि बिहीबार उनलाई शिक्षण अस्पताल रिफर गरिएको थियो । बीचबाटोमै उनलाई सास फेर्न गाह्रो हुन थालेपछि एम्बुलेन्स धुलिखेल अस्पताल लगिएको थियो । तर, बाटोमै उनको मृत्यु भइसकेको अस्पतालले जनाएको छ।

‘अस्पताल ल्याइपुर्‍याउँदा नै उहाँको मृत्यु भइसकेको थियो । स्वास्थ्यकर्मीले कृत्रिम श्वास दिएर कोसिस गर्नुभयो, तर केही सीप लागेन । श्वासप्रश्वासमा समस्या भएकाले हामीले तत्कालै स्वाब लियौँ । अस्पतालको ल्याबमा पिसिआर परीक्षण गर्दा उहाँको रिपोर्ट पोजेटिभ आयो,’ धुलिखेल अस्पतालका डिन डा.राजेन्द्र कोजूले भने।

मृतकमा कोरोना भाइरस पोजेटिभ देखिएपछि अस्पतालले उनको नमुना केन्द्रीय प्रयोगशाला टेकुमा पनि पठाएको थियो । त्यहाँको रिपोर्ट पनि पोजेटिभ आएको थियो । संक्रमणबाट जोगिन अस्पतालले परिवारका सदस्यलाई मृतकको छेउमा जान दिएको छैन।

कोरोना संक्रमणबाट मृत्यु भएकालाई आफन्तले एक मिटर टाढाबाट मात्रै हेर्न पाउनेछन् । संक्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले शव व्यवस्थापनका लागि बनाएको निर्देशिकामा यस्तो व्यवस्था गरेको छ।

शवलाई नछोईकन टाढैबाट कुल धर्मअनुसार तिल, पानी छर्कने तथा फूल चढाउन भने पाइनेछ । त्यस्तै, ६० वर्षभन्दा माथिका र दीर्घरोगीलाई शवको नजिक जान रोक लगाइएको छ।

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा पनि विशेष सावधानी अपनाउनुपर्नेछ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सचालक, परिवारका सदस्य र सद्गद्मा सहभागी हुने मृतकका आफन्तले पन्जा, चस्मा, टोपी, मास्कसहितको पिपिई अनिवार्य प्रयोग गर्नुपर्नेछ।

कोरोनाबाट मृत्यु भएका व्यक्तिको सामान्यतः पोस्टमार्टम गर्नुपर्दैन । मृतकको फोक्सो तथा अन्य अंगमा जीवाणु जिउँदै हुन सक्ने भएकाले पोस्टमार्टम गर्नैपर्ने अवस्थामा विशेष होसियारी अपनाउन विज्ञहरूको सुझाब छ।

शवलाई पर्याप्त भेन्टिलेसन भएको कोठामा राखी कम स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक सुरक्षा उपकरणको प्रयोग गरेर मात्रै पोस्टमार्टम गर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .