चिकित्सक संघ र नेपाल भेटनरी एसोसिएसनले भन्सार नाकामा क्वारेन्टाइन र जीवनाशक विषादी परीक्षण गरेर मात्र तरकारी र फलफूल भित्र्याउन माग गरेका छन्।
दुई संस्थाले मंगलबार विज्ञप्ति जारी गर्दै विषादीको अत्यधिक उपभोगले मुलुकमा बाँझोपना, स्मरणशक्तिमा ह्रासलगायत विभिन्न स्वास्थ्य समस्या बढदै गएको औंल्याएका छन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
भेटनरी एसोसिएसनका अध्यक्ष एवं ‘भेटनरी टक्सिकोलजी’ विज्ञ डा.शीतलकाजी श्रेष्ठले तरकारी र फलफूल विषादीरहित पुष्टि नभएसम्म मुलुकमा भित्रिन दिन नहुनेमा जोड दिए ।
‘तरकारी आउने मुलुकको सरकारले जारी गरेको ‘फाइटो स्यानेटरी सर्टिफिकेट’ नेपालले खोजेको ढाँचामा हुनुपर्छ,’ उनले भने, ‘शंका लागे मुलुकभित्रसमेत जाँच्नुपर्छ ।’ श्रेष्ठले नेपालले क्वारेन्टाइन मापदण्ड पूरा गर्न पाउने बताए।
एसोसिएसनका अनुसार विषादी परीक्षणले स्वदेशी कृषकलाई समेत कृषि उत्पादन अभिवृद्धि गर्न र प्रतिस्पर्धी बनाउन सहयोग पुग्नेछ । सीमा क्षेत्रका क्वारेन्टाइन कार्यालय तथा चेकपोस्टको संस्थागत क्षमता अभिवृद्धि गरी कडाइसाथ नियमन गर्न पनि एसोसिएसनले जोड दिएको छ।
स्वदेशी कृषक, विषादी प्रयोगकर्तालाई समेत कुन बालीमा कहिले, कति पटक, कुन मात्रामा प्रयोग गर्नेबारे आधारभूत ज्ञान हुनुपर्ने एसोसिएसनले जनाएको छ।
विज्ञका अनुसार हालसम्म मुलुकमा विषादी नष्ट गर्ने प्रविधि छैन। म्याद नाघेका विषादी पुनः उत्पादक मुलुकमै फर्काउनुपर्ने कानुनी व्यवस्था गर्नुपर्ने श्रेष्ठले बताए । मुलुकमा कति विषादी छ भन्ने यकिन तथ्यांक पनि सरकारसँग छैन।
चिकित्सक संघले तरकारी र फलफूलमा विषादी परीक्षण प्रभावकारी रूपमा गर्नुपर्नेमा जोड दिएको छ । जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३९ मा उपभोग्य वस्तुको उत्पादन, भण्डारण तथा बिक्रीवितरणलाई गुणस्तरीय र स्वस्थ बनाइने उल्लेख छ।
चिकित्सकका अनुसार विषादीयुक्त फलफूल, तरकारी सेवनले मानव शरीरमा अल्पकालीन र दीर्घकालीन समस्या देखा पर्न सक्छन् । मानसिक असन्तुलन, श्वासप्रश्वासमा समस्या, झाडापखाला, पिसाबमा समस्या, छालामा संक्रमण तत्काल देखा पर्न सक्छन्।
दीर्घकालीन रूपमा मुटु, कलेजो, मृगौलामा गम्भीर असर पार्नुका साथै क्यान्सरजस्ता प्राणघातक रोग निम्त्याउन सक्छ । बाँझोपनलगायत प्रजनन स्वास्थ्यसम्बन्धी समस्या पनि विषादीले निम्त्याउन सक्ने चिकित्सक बताउँछन्।

प्रतिक्रिया