युएईको अबुधाबीमा ३० दिनअघि बितेका ३६ वर्षीय हरिशरण डोटेलको शव उतै छ । काकाको अन्त्येष्टि गर्न नपाएकोमा नुवाकोटको बेलकोट– १२ मदानपुरका २३ वर्षीय अश्विन बेचैन छन्।
पीडाले विक्षिप्त काकीको हेरचाह गर्ने मात्र होइन, अन्जान हजुरआमालाई यो खबर कसरी सुनाउने? यी युवालाई सिंगो पृथ्वीको भार टाउकोमा परेजस्तो भएको छ।
वैदेशिक श्रमबजारमा पसिना बेच्न गएका युवाको मृत्यु यो पहिलो वा अन्तिम घटना होइन। यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।
एक युवाको मृत्युले सिंगो परिवारको भाग्यरेखा कसरी भाँडिन्छ भन्ने रिपोर्टिङ गर्न केही दिनअघि हामी हरिशरणको गाउँ पुग्यौँ । काठमाडौंबाट करिब तीन घन्टाको यात्रापछि मदनपुर, डोटेलगाउँको उकालोमा अश्विन भेटिए । उनैले आफ्नो परिवारको व्यवस्था बयान गरे ।
वैदेशिक रोजगारीका क्रममा हरिशरण अबुधाबी गएका हुन् । गत ९ चैतमा उनको मृत्यु भएको खबर आयो । काठमाडौं नेपालटारस्थित डेरामा बस्दै आएकी ३४ वर्षीया श्रीमती सुशीला खबर सुनेर ढलिन्।
हरिशरण बिरामी थिएनन्, अचानक उनको मृत्युको खबर आयो । तर, मृत्युको कारण के हो? अहिलेसम्म खुलेको छैन । उनको शव कहिले आउने हो, त्यो त अनुमान गर्न पनि गाह्रो छ।
‘सुरुमा मृत्युको खबरले परिवारलाई विचलित बनायो, अहिले शव अड्कियो भनेर पीडा छ, जुन दिन शव आउँछ त्यो दिन फेरि परिवारको हालत के हुने हो भन्ने सम्झेर अहिले नै छाती फुलेर आउँछ,’ अश्विन भन्छन्, ‘एउटै घटनाले हामीलाई पटकपटक विक्षिप्त बनाउने भयो।’
विपत्को यस्तो बज्रपात उनलाई पहिलोपटक परेको होइन । आर्थिक रूपमा विपन्न भए पनि एक छोरा र एक छोरीलाई असल शिक्षा दिने प्रयासमा थिए सुशीला र हरिशरण ।
तर, चार वर्षअघि भूकम्पले घर भत्कायो । भित्रै पुरिएर ६ वर्षीय छोराको ज्यान गयो । बालक छोराको वियोगमा छटपटाएका दम्पतीले अब छोरीलाई पढाउने र बढाउनेमा ध्यान केन्द्रित गर्ने निधो गरे।
पुरिएको छोरालाई उठाउन सकेनन्, तर ढलेको घर उनीहरूले फेरि ठड्याए । तर, ठूलो ऋण लाग्यो । घर बनाउँदाको ऋण र परिवारको गर्जो टार्न वर्ष दिनअघि मात्रै हरिशरण अबुधाबी गएका थिए । तर, विदेश जाँदा लागेकोसमेत ऋण तिरिनसक्दै उनको मृत्यु भयो । पुत्रवियोग भुल्न नसकेकी सुशीलालाई पतिवियोग थपिएको छ।
सुशीला र उनकी १३ वर्षीया छोरी सन्ध्यालाई लिएर अश्विन लकडाउनको अघिल्लो दिन नै गाउँ पुगेका हुन् । घर आएकी बुहारीको विक्षिप्त अवस्था देखेर ७६ वर्षीया लक्ष्मी अवाक भइन् । बुहारीको अवस्था किन यस्तो भयो भनेर सोध्न थालिन् ।
‘वास्तविकता बताउन हामीलाई हिम्मत भएन । काकीको अवस्था त्यस्तो थियो, त्यसमाथि हजुरआमाको हालत के होला भनेर हामी डरायौँ,’ अश्विन भन्छन्।
अहिले वृद्धा आमालाई वास्तविकता लुकाउन गाउँलेबीच सल्लाह भयो । कमाउन गएको छोरा एक महिनाअघि नै चिरनिद्रामा गइसके, उनी बाकसमा बन्द छन् भन्ने आमा लक्ष्मीलाई छनकसम्म पनि छैन।
काकाको मृत्यु भएकै दिनबाट परिवारका सबै सदस्यले एक छाक नुन खान छाडेका छन् । तर, शंका होला भनेर वृद्धा हजुरआमाको खानामा तरकारी टुटेको छैन । अझ उनलाई नुन हालेको कालो चिया त पेटभरि खान मन पर्छ।
सबेरै उठ्नासाथ उनी अँगेनोमा दाउरा जोरेर कालो चिया बनाउँछिन् । ‘अँगेनोको छेउमा बसेर चिया खाएपछि हजुरआमा आँगनमा निस्कनुहुन्छ । कहिले पँधेरोबाट पानी ओसार्नुहुन्छ, कहिले गोठ सफा गर्नुुहुन्छ,’ अश्विनले हजुरआमाको दैनिकी बयान गरे । हामी उनको घरमा पुग्दा हजुरआमा मकै खोस्लाइरहेकी थिइन्।
लक्ष्मी आफ्नै धुनमा हराउँछिन् । तर, जब उनले बुहारीको फुंग उडेको अनुहार देख्छिन्, बेचैन भएर नातिलाई सोध्छिन् । तर, काकीलाई सन्चो छैन, डाक्टरलाई देखाएर ल्याएको भन्दै अश्विनले हजुरआमालाई फुल्याउँछन् ।
बुहारी यता बिरामी छिन्, उता छोरालाई पत्तो छैन भन्ने लागेर वृद्धा पिरोलिन्छिन् । नातिको खल्तीबाट आफैँ फोन निकालेर फोन गर्न भन्छिन् । तर, नातिको हात हिउँजस्तै चिसो हुन्छ जब ती विवश वृद्धाले विदेशमा रहेको छोरासँग फेसबुकको भिडियो कलमा कुरा गर्न खोज्छिन् ।
‘फेसबुकमा भिडयो कल गर, म आफैँ भन्छु भनेर जिद्दी गर्नुहुन्छ,’ अश्विन भन्छन्, ‘कहिले मोबाइलमा ब्लालेन्स सकियो भन्छु, कहिले काका ड्युटीमा हुनुहुन्छ भनेर टार्छु ।’ बुहारी यत्रो बिरामी हुँदा एक कल फोन पनि गरेन भनेर वृद्धा आफ्नै छोरासँग पनि गुनासो गर्छिन् ।
प्रतिक्रिया