छापा खबर


प्रहरीले बेचेको पेट्रोलमा पानी भेटियो

प्रहरीले बेचेको पेट्रोलमा पानी भेटियो

नेपालखबर
बैशाख ७, २०७७ आइतबार ०:५५,

नेपाल प्रहरीको सामाखुसीस्थित पेट्रोल पम्पबाट बिक्री गरिएको पेट्रोलमा पानी मिसिएको भेटिएको छ।

पम्पबाट शनिबार बिक्री गरिएको पेट्रोलमा पानी मिसिएको भेटिएको नेपाल आयल निगमले जनाएको खबर आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन्।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले नेपाल प्रहरीको सामाखुसीस्थित पेट्रोल पम्पबाट बिक्री गरिएको पेट्रोलमा पानी मिसिएको भेटिएको खबर नेपाल आयल निगमलाई प्राप्त भएको बताए।

‘यसबारे सत्यतथ्य पता लगाउन अनुसन्धान सुरु भइसकेको छ,’ उनले भने, ‘पेट्रोलमा कति मात्रामा पानी भेटिएको हो? कसरी त्यस्तो भयो? त्यस विषयमा अनुसन्धान तथा छानबिन सुरु भएको छ।’

प्रवक्ता उपाध्यायले पेट्रोलमा पानी चाहिँ भेटिएको बताए। पानी कसरी मिसिन पुग्यो? सोबारे निगमको प्राविधिक सहितको टोलीले ४८ हजार लिटर क्षमता रहेको उक्त पेट्रोल पम्पकै अनुसन्धान र छानबिन सुरु गरेको उनले बताए।

एउटै डिपो र ट्याङ्करबाट विभिन्न पम्पमा पेट्रोल वितरण गरिए पनि अन्य ठाउँमा पानी मिसिएको नभेट्नु तर प्रहरीद्वारा सञ्चालित पम्पमा पानी मिसिएको भेटिनु गम्भीर विषय रहेको बताए।

पानी मिसिएको खबर निगमलाई प्राप्त हुने बित्तिकै थानकोट आयल निगम डिपोका प्रमुुख प्रदीपकुमार यादवसहित निगमका प्राविधिक सहितको टोली सामाखुसी पेट्रोल पम्प पुगी अनुसन्धान सुरु गरेको हो।

शनिबार बिहान पेट्रोल बिक्री वितरण गर्ने बेलामा एक ग्राहकले खरिद गरेको पेट्रोलमा पानी मिसिएको भेटिएको थियो । थानकोट डिपोबाट नै सामाखुसी पम्पमा पेट्रोल ल्याइएको थियो।

नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशीले नेपाल आयल निगमको थानकोट डिपोबाट सामाखुसी पम्पमा ल्याउँदा नै पेट्रोलमा पानी मिसिएको पाइएको जानकारी दिए।

उनका अनुसार थानकोट डिपोबाट छ हजार लिटर पेट्रोल सामाखुसी पम्पमा ल्याइएको थियो । त्यसमा पानी मिसिएको भेटिएपछि नेपाल आयल निगमलाई तत्काल खबर गरिएको तथा बिक्री वितरण बन्द गरिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad