देशमा खरिद–बिक्री, ठेक्कापट्टा, भ्रष्टाचार र छानबिनको आफ्नै कथा छ, तर त्यो कोलाहलकै बीच स्वास्थ्यकर्मीहरू संक्रामक रोगको उपचारमा दिनरात खटिरहेका छन्।
कोरोनाविरुद्धको संघर्षमा अग्रपंक्तिमा यी योद्धाहरू २४सै घन्टा ड्युटीमा छन्, किनकि उनीहरूलाई आठ-आठ घन्टामा फेर्ने पिपिई छैन।
अहिले देशमा सबैभन्दा बढी सुनिएको शब्द हो पिपिई अर्थात् व्यक्तिगत सुरक्षा उपकरण । तर, यो देशमा सबैभन्दा बढी अभाव पनि त्यसैको रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा सागर चन्दले लेखेका छन्।
त्यसैले कोरोना उपचारका लागि समर्पित टेकुको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका स्वास्थ्यकर्मी २४ घन्टा ड्युटीमा खटिएका छन्।
डा.श्रवणकुमार मण्डल स्वास्थ्यकर्मी र कर्मचारीका लागि दिउँसोको खाजा व्यवस्थापन गर्न तल्लीन थिए । उनीहरूको खाना, खाजा अस्पतालमै हुन्छ, दिनरात अस्पतालमै बित्छ।
नेपालमा कोरोना संक्रमण देखिनुअघि अस्पतालका स्वास्थ्यकर्मी बिहान, बेलुका र राति गरेर तीन सिफ्टमा काम गर्थे।
‘तर, अहिले हामी २४सै घन्टा ड्युटी गरिरहेका छौँ । २४ घन्टे ड्युटीले पिपिई जोगाएको छ,’ डा.मण्डलले भने, ‘सिफ्ट फेर्यो भने हरेक सिफ्टका स्वास्थ्यकर्मीलाई नयाँ पिपिई चाहिन्छ । तर, २४ घन्टा एकजनाले ड्युटी गर्यो भने एउटा मात्र पिपिईले पुग्छ, किनकि हामीलाई बिरामीको ज्यानसँगै पिपिई पनि जोगाउनुपर्ने चुनौती छ।’
अस्पतालमा अहिले ३९ जना डाक्टर खटिएका छन् । आकस्मिक कक्ष, फिभर क्लिनिक, क्वारेन्टाइन, आइसोलेसन र आइसियूजस्तो व्यस्त सेवामा उनीहरू अथक रूपमा खटिरहेका छन्।
पिपिई मात्र होइन, मास्क पनि जोगाउनुपर्ने आवश्यकता भएको बताउँछिन् डा.सृष्टि नेपाल । आकस्मिक कक्षमा खटिएकी डा.नेपाल भन्छिन्, ‘हामीसँग पिपिई मात्र होइन, मास्क पनि पर्याप्त छैनन्, त्यसैले एकैजनाले लामो ड्युटी गरेर पिपिई र मास्क जोगाउने निर्णय गरेका हौँ।’
२४ घन्टाको ड्युटीपछि स्वास्थ्यकर्मीले एक दिन आराम गर्न छुट्टी पाउँछन् । तर, जाने कहाँ? घरमा जान, परिवारसँग घुलमिल गर्न उनीहरू डराउँछन् । त्यसमाथि घरभाडामा बस्ने डाक्टर र नर्सलाई घरबेटीले निषेधको मनोविज्ञान सिर्जना गरिसकेका छन् । त्यसैले कतिपय स्वास्थ्यकर्मी घर नगई अस्पतालमै बसिरहेका छन्।
डा.मण्डल घर नगएको २७ दिन भयो । मैतिदेवीमा भाडामा बस्ने डा.मण्डल भन्छन्, ‘स्टोनले आमाको पिसाबनली ब्लक भएकाले पाइप हालिएको छ । अप्रेसन गर्नुपर्ने थियो । भाउजू पनि गर्भवती हुनुुहुन्छ। परिवारको हेरविचार गर्नुपर्ने यो वेलामा घर जानै सकेको छैन।’ उनी धेरैजसो अस्पतालमै बस्छन्, कहिलेकाहीँ भाइको डेरामा जान्छन्।
‘यहाँ काम गर्ने सबैजसो स्वास्थ्यकर्मीलाई यस्तै समस्या छ। कतिपय घरबेटी सीधै बोल्छन्, कतिपयले मनोवैज्ञानिक दबाब दिन्छन्, त्यसैले साथीहरू घर जान मन गर्दैनन्,’ उनी भन्छन्।
त्यसो त कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू आफूलाई र आफूबाट अरूलाई संक्रमण नफैलियोस् भनेर सचेत पनि छन्।
आइसोलेसन डिर्पाटमेन्ट इन्चार्ज नर्स बेली पौडेल भन्छिन्, ‘म घरमा पनि छुट्टै कोठामा बस्छु । घर जाने समयमा अस्पतालमै नुहाएर जान्छु, फेरि घर पुग्नेबित्तिकै पनि नुहाउँछु । परिवारसँग घुलमिल गर्दिनँ।’
संक्रमणबाट जोगिन अस्पतालको गेटैमा ‘डिसइन्फेक्सन’ छर्किने व्यवस्था छ । तैपनि घर जाने स्वास्थ्यकर्मी सेल्फ आइसोलेसनमा बसिरहेका छन् । नर्स पौडेल भन्छिन्, ‘घरमा रोगी मान्छे । बुढा र बच्चा भएका साथीहरू त यतै बसिरहनुभएको छ । घर जाने स्वास्थ्यकर्मी पनि छुट्टै कोठामा बस्नुभएको छ।’
आकस्मिक कक्षकी डा.नेपाल पनि घर जान्छिन्, तर परिवारसँग अलग्गै बस्छिन् । भन्छिन्, ‘छुट्टै कोठामा बस्छु, खान्छु । परिवारका सदस्य र छिमेकीसँग भेट्दिनँ, आफ्ना सरसामानहरू छुट्टै राखेकी छु।’
प्रतिक्रिया