छापा खबर


यौनशिक्षा पढाउँन शिक्षक नै लजाउँछन्, अनि विद्यार्थी लाग्छन् युट्युवतिर!

यौनशिक्षा पढाउँन शिक्षक नै लजाउँछन्, अनि विद्यार्थी लाग्छन् युट्युवतिर!

नेपालखबर
असार २२, २०७६ आइतबार १:५५,

विद्यालयमा पढाइ हुने यौन शिक्षा अपुरो, अपर्याप्त र पाठ्यविधि पनि कमजोर रहेको यस विधामा चासो राख्ने विज्ञहरुले बताएका छन्।

‘स्वास्थ्य तथा शारीरिक शिक्षाभित्र एक–दुई पाठ यौनसँग सम्बन्धित विषय समावेश गर्दैमा विद्यार्थीका सबै जिज्ञासा पूरा हुँदैनन्, पाठ्यक्रम पूर्ण छैन,’ आदिनाथ माध्यमिक विद्यालय, चोभारका प्रधानाध्यापक जुजुभाइ महर्जनले भने।

यो खबर आजको समाचारपत्र दैनिकमा मनोज रेग्मीले लेखेका छन्।

शिक्षिका रमिला तामाङ शिक्षक महर्जनको भनाईमा सहमती जनाउँदै भन्छिन्, ‘कक्षाकोठाभित्र प्रवचन विधिद्वारा पढाइएको यौनशिक्षाको विषयवस्तु अपुग छ, किशोर–किशोरी र युवाहरुलाई यस सम्बन्धमा आवश्यक जानकारी गराउन हामीले थप प्रयास गर्नु आवश्यक छ।’

प्रजनन अंगका बारेमा व्याख्या गरेर त्यसको संवेदनशीलता र प्रजननसम्बन्धी कामका बारेमा जानकारी गराउनु, विद्यार्थीका जिज्ञासाको जानकारी दिनु र यससम्बन्धमा विकृति हुन नदिनु त कहाँ हो कहाँ, शिक्षिक–शिक्षिकाहरु ल ल आफै पढ भन्दै पढाउँदै नपढाई पाना पल्टाउँने काठमाडौंको झोछेंका अभिभावक सजना शाक्य बताउँछिन्।

‘म विद्यार्थी हुँदा पनि त्यस्तै थियो, आज पाँच वर्षपछि मेरी बहिनीले पनि त्यही अनुभव सँगालिरहेकी छ।’ उनी लजाउने शिक्षकलाई गैरजिम्मेबार मान्छिन्। यस्ता शिक्षक शिक्षिकालाई बाहिर पठाएर भिडियो, डकुमेन्ट्री र युट्युबबाट अन्तरक्रियात्मक रुपमा यौनशिक्षा हासिल गराइनु पर्ने उनको भनाई छ।

पछिल्लो समय इन्टरनेटको पहुँच बढ्दै गएपछि यौन तथा प्रजनन स्वास्थ्यका विषयमा विद्यार्थीमा आवश्यक ज्ञान कथाकोठाभन्दा बाहिरबाट थाहा पाउने अवस्था सिर्जना भएको पनि छ।

तर, धेरैजसो स्कुलमा अंग्रेजी, गणित, विज्ञान, नेपाली विषयको छुट्टै विषयगत शिक्षक हुने भएपनि स्वास्थ्य शिक्षा पठाउने छुट्टै शिक्षकको दरबन्दी नहुने, अन्य विषयका शिक्षकले औपचारिकता पूरा गर्नेगरी पढाउने गरेको सजना बताउँछिन्।

विगतमा किशोर–किशोरी र कम उमेरका बालबालिकालाई यौनसम्बन्धी जानकारी दिइँदैन्थ्यो र यस विषयलमा खुलेर कुरा गर्न नहुने मान्यता राखिन्थ्यो।

एउटा किशोर वा किशोरी विवाहका लागि तयार हुँदासम्म पनि यौनको विषयमा छलफल गरिंदैन्थ्यो । धेरैजसो यौनका विषयका बारेमा साथी, सञ्चारमाध्यम तथा अन्य अनौपचारिक माध्यमबाट अनुमान गर्दै जानकारी लिनुपर्दा ती जानकारी अपर्याप्त हुने र त्यसले विकृति पनि भित्र्याउने विज्ञहरु बताउँछन्।

स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव डा. किरण रेग्मीको विचारमा कलिलै उमेरमा विवाह गर्ने, बच्चा जन्माउने, धेरै बच्चा जन्माउने, बीचमै पढाइ छोड्ने, घरेलु हिंसा हुने तथा मातृ मृत्यु र बाल मृत्युदर बढ्ने कारण पनि यौन तथा प्रजनन स्वास्थ्यको सही जानकारी नभएकैले हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad